इटहरी , सुनसरीमा आज बाट निषेधाज्ञा खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले त्यस्तो निर्णय गरेको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खाद्यान्न लगायत विक्रि वितरणमा सहजता ल्याउन केहि मात्रामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको बताउनु भयो । प्रजिअ ढकालका अनुसार खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति वितरणलाई सहज बनाइने छ ।

प्रजिअ ढकालले उद्योग वाणिञ्य संघ र स्थानीय तहसँगको छलफल पश्चात डीसीसीएमसीले त्यस्तो निर्णय लिएको जानकारी दिनुभयो ।बैठकको निर्णय सँगै सुनसरीमा भोलिबाट खाद्यान्नका पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष) समेत विहान १० देखि अपरान्ह ३ बजे सम्म खोल्न दिइने प्रशासनले जनाएको छ । उसले सकेसम्म उवासंघ र स्थानीय तहले होम डेलिभरीको व्यवस्था मिलाउनु पर्ने भनेको छ ।

यस्तै सुनसरी प्रशासनले दिएको जानकारी अनुसार दुधडेरी तथा माछा,मासु पसल विहान १० बजे सम्म र बेलुका ४ देखि ७ बजे सम्म खोल्न पाइने छ । फलफूल तथा तरकारी संकलन तथा ढुवानी भने निर्वाध गर्न पाइने प्रशासनले जनाएको छ ।बैठकको निर्णय अनुसार फलफूल तथा तरकारी विक्रिको हकमा भने विहान १० देखि ३ बजेको अवधि भित्र ठेला गाडा समेतमा राखी घरघरमा पुर्याउन सकिने छ । यद्यपि, बैठकले सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्रि गर्न र त्यस्तो बजार लगाउन भने नपाइने भनेको छ ।यसैगरी डीसीसीएमसीले स्टेसनरी पसल समेत १० बजे देखि ३ बजे सम्म खोल्न दिने निर्णय गरेको छ ।

प्रशासनले त्यस बाहेकका यस अघिका अन्य निर्णय भने यथावत रहने जनाएको छ ।सुनसरी प्रशासनले देहायका कार्य गर्दा स्वास्थ्यका मापदण्ड पालना भए नभएको भन्ने विषयमा भने निगरानी गरिने जनाएको छ । उसले उल्लंघन गरे नियम बमोजिम कार्वाही गरिने स्पष्ट पारेको छ ।

साथै बैठकले फ्रन्ट लाइनमा रही कार्यरत सुरक्षाकर्मी लगायत बैंक तथा वित्तिय संस्थाका कर्मचारी, व्यापारी तथा कानुन व्यवसायीहरुका लागि खोपको व्यवस्था मिलाउन प्रदेश सरकार समक्ष माग गर्ने निर्णय समेत गरेको छ ।सोही बैठकमा सहभागी उद्योग वाणिञ्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले व्यापारी,कामदार र तिनका परिवारको हकमा खोपको सुनिश्चितता मिलाउन प्रजिअ समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । सुनसरीमा जारी निषेधाज्ञाको अवधि भने जेठ ३१ गते मध्यराती सम्म कायम छ ।

FB_IMG_16232408298006859