उमेर नपुगेका कैदीबन्दी राखिएको विराटनगरमा रहेको बाल सुधार गृहमा कोरोना सङ्क्रमण फैलिएको छ ।

बाल सुधार गृहका २५ जना बालकमा कोरोना संक्रमण देखिएको हो । ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरमा कोरोना देखिको विराटनगर महानगरपालिकाले जनाएको छ ।

सुधारगृहमा क्षमताभन्दा धेरैलाई राखिएको छ । ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् । गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ । २२ जनाको रिपोर्ट पोजेटिभ आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन ।

सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको स्रोतले जनाएको छ । जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते आउँदा २२ जनामा कोरोना देखिएको भएपनि अन्य बालकको परीक्षण अझै भएको छैन ।

सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ । जेठ १३ गते स्वाब सङ्कलन गरिएका बालकको रिपोर्ट ढिलो आएकोले अन्य बालकको परीक्षणमा ढिलाई भएको उनको दावी छ ।

सङ्क्रमण पुष्टि भएका बालकहरूमा कुनै लक्षण भने नदेखिएको उनले बताए । पोजेटिभ देखिएका बालकलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ ।

सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएकोले उनीहरुमा कोरोना फैलिएको हो । सुधारगृहमा १४ वटै जिल्लाका बालविज्याईकर्तालाई अदालतको आदेशपछि राखिन्छ । सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् ।