काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र जनता समाजवादी पार्टीका केही सांसदका कारण संसदीय व्यवस्थामा विकृति आएको आरोप लगाएका छन् । आफूलाई प्रधानमन्त्रीबाट च्युत गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आधिकारिक निर्णय विपरीत निर्दलीय प्रवृत्ति देखिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन दशकअघि तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकार कांग्रेसकै कारण ढलेको स्मरण गरे । उनले त्यो प्रवृत्ति अहिले पनि देखापरेको र यसले लोकतन्त्र नै खतरामा पर्ने बताए । प्रधानमन्त्री ओलीले जनतामा जानु भनेको प्रतिगमन नभएको भन्दै चुनावको बचाउ गरे । उनले परिणामलाई ध्यानमा राखेर निर्वाचनको विरोध नगर्न अनुरोध गरे । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पूरै कार्यकाल चलोस् भन्ने आफ्नो चाहना पूरा नभएको बताए । उनले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दीमा पारेर हटाउन खोज्दा समस्या आएको बताए । प्रधानमन्त्रीले आफूले नेकपा एमालेलाई पनि एकताबद्ध गरेर अघि बढ्ने प्रयास गरे पनि केही नेताहरूको विभाजनकारी प्रवृत्तिका कारण त्यो पूरा नभएको बताए । आफ्नो दलको उम्मेदवारविरुद्ध साझा उम्मेदवारका नाममा अरूलाई उठाउने र जिताउने काम भएपछि एकताको प्रयास सार्थक नभएको उनले बताए । प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनमा उल्लेख्य काम गरेको जनाए । त्यसैगरी सुशासन र विकासको क्षेत्रमा पनि उल्लेख्य काम भएको दाबी उनले गरे । सिके राउत र विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा ल्याएको पनि उनले स्मरण गराए । आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा पछिसम्म रहिरहने प्रधानमन्त्रीले जनाए ।




















