काठमाडौं ।  कोरोना भाइरस कोभिड १९ सङ्क्रमितको सङ्ख्या बडेसँगै मुलुकभर अक्सिजनका सिलिण्डर अभाव शुरु भएपछि  एस जी ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर ल्याउने भएका हुन् ।

  एस जी ग्रुप मार्फत  चीनबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर सात दिनभित्रै आइपुग्ने अध्यक्ष घिमिरेले जानकारी दिए । अक्सिजनको उत्पादन नेपालमै पर्याप्त भए पनि सिलिण्डर अभावले गर्दा सङ्क्रमित विरामीहरुले अक्सिजन पाएका छैनन् ।  सङ्क्रमितको ग्राफ दैनिकजसो बढ्दो क्रममा रहेपछि अक्सिजन सिलिण्डर अभाव हुन नदिन भन्दै व्यवसायी  घिमिरेले यस्तो  निर्णय गरेका हुन ।

पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग तथा ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर सोमबार हवाई मार्गबाट काठमाडौं आइपुग्ने जनाइएको छ ।

यस्तै, अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२५० युनिट जेठ ७ गतेभित्र स्थलमार्गबाट नेपाल ल्याइपुर्याइने अध्यक्ष घिमिरेले जानकारी दिए ।

घिमिरेले मुलुकमा अक्सिजन अभावको समस्या भयावह भएको उल्लेख गर्दै यो बेला मुनाफा नराखी लागत मूल्यमा यी सामग्री आवश्यकताका आधारमा अस्पताल तथा व्यक्तिहरुलाई उपलब्ध गराइने बताए ।

हरेक दिन अक्सिजन अभावले बिरामीको मृत्यु भैरहेको छ, सबैले केही न केही पलह गर्ने हो भने अब क्षति कम गराउन सकिने भएकाले आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने अध्यक्ष घिमिरेकाे भनाइ छ । 

‘अहिलेको महामारीमा हामी सबै व्यवसायीले विदेशमा आफ्नो नेटवर्कमार्फत अक्सिजनलगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री भित्र्याउन पहल गर्नुपर्छ भनेर यो प्रयास गरिएको हो,’ अध्यक्ष घिमिरे भन्छन्, ‘तत्कालका लागि अक्सिजन सिलिण्डर, ब्याग र मास्क भित्र्याएका छौं र आवश्यकताका आधारमा थप सामग्री ल्याउने योजनामा छौं ।’

अक्सिजन ब्यागको उपयोगिता यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पुर्याउनु पर्ने संक्रमितका लागि गर्न सकिने जनाइएको छ । अन्य मुलुकमा यस्तो व्याग आपतकालिन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको छ ।