इटहरी । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा कतिपय स्थानका अस्पतालहरुले अक्सिजन अभाव रहेको भन्दै विरामीहरु लिन नमानिरहेको समयमा सुनसरीको इटहरीमा अक्सिजन सहितको ४० बेडको आइसोलेसन सञ्चालनमा ल्याउने भएको छ ।
उद्योग वाणिज्य संघ इटहरीको अगुवाई तथा नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरी, इटहरी जेसिज , माडवारी सेवा समिति इटहरीको सहकार्यमा इटहरी १०मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटमा अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याउन लागेको हो ।
अक्सिजन सहितको आइसोलेसन सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले वताए ।
उनले कोभिडका विरामीहरु विभिन्न अस्पतालहरुमा छटपटाई रहेको देखेर विरामीहरुलाई अक्सिजन सहितको सेवा दिने उद्धेश्यले आइसोलेसन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
उद्योग वाणिज्य संघ इटहरी लगायतले सञ्चालनमा ल्याउन लागेको आइसोलेसनमा स्वास्थ्यकर्मीहरुले समेत सेवा दिने जनाइएको छ ।
सो आइसोलेसनमा खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क सेवा प्रदान गरिने समेत जनाइएको छ ।
आइसोलेसन सञ्चालन गर्न लागेको विषयमा स्थानीय प्रशासन , स्थानीय सरकारसंग समेत समन्वय गरिएको समेत जनाइएको छ ।
स्थानीय सरकार र प्रशासनले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको वताइएको छ ।
इटहरी रगंशालामा अघिल्लो दिन इटहरी उपमहानगरपालिकाले ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याइसकेको छ ।




















