इटहरी : इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ । उद्योग बाणिज्य संघ इटहरी को नेतृत्व तथा  युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिने भएको हो ।उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयार गर्न सुरु गरिएको र केहीदिनमै सञ्चालनमा आउने बताए । ‘यहाँ गरीब, विपन्न तथा आर्थिक स्तर कमजोर भएका नागरिकहरुलाई राखिनेछ र निःशुल्क खानासहित उपचार गरिनेछ,’ पौडेलले टाकुरासँग भने, ‘प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधा पनि छ, आज सिडिओ साबहरुले अनुगमन गरेर आइसोलेसन सञ्चालनका लागि स्वीकृति पनि दिनुभएको छ ।’

सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, प्रहरी प्रमुख एसपी कमल थापा, सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव पौडेलसहितको टोलीले अनुगमन समेत गरेको छ ।

अनुगमनपछि प्रजिअ ढकालले पूर्वमै पहिलोपटक यस्ता संस्थाबाट आइसोलेसन तयार गर्न लागिनु सकारात्मक पक्ष रहेकाले सञ्चालनका लागि स्वीकृति दिएका थिए ।

उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलको अध्यक्षतामा कमिटि समेत बनिसकेकाले केही दिनभित्रै आइसोलेसन सञ्चालनमा आउनेछ । उक्त कमिटिमा वस्तुगत संस्थाका मानिसहरु पनि रहेका छन् । पूर्वमै पहिलोपटक निःशुल्क रुपमा उपचार गर्ने उदेश्यले निर्माण भएको आइसोलेसन गरीब, विपन्न परिवारका लागि राहत हुने उवासंघले जनाएको छ । यसअघि इटहरी उपमहानगरपालिकाले वडा नं. ९ मा रहेको रंगशालामा ५० बेडको आइसोलेसन तयार गरेको जनाएको छ । तर, जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा व्यवस्था नहुँदा आइसोलेसन हालसम्म सञ्चालनमा आउन सकेको छैन ।