काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुलाई मात्र राखेर २८ फागुन र त्यसयता गरेका निर्णयहरु खारेज गरी २ जेठ २०७५ मा फर्किनुपर्ने अडानमा नेपाल–खनाल पक्ष अहिले पनि यथावत छन् । आफ्नो बिगतको निर्णयबाट पछि हट्न तयार नदेखिएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली निकास छाडेर घोचपेचयुक्त विज्ञप्ती जारी गर्न उद्धत देखिएका छन् । एमालेको एकता टर्दैगर्दा संसदको अंकगणितमा समेत फेरबदल हुने देखिएको छ ।
नेपाल–खनाल पक्षका ३४ जना सांसदलाई स्पष्टीकरण सोधेर कुनै पनि बेला संसद सदस्यबाट निष्कासन गर्न सक्ने संकेत गरेका अध्यक्ष ओली आफ्ना पार्टीका सांसदलाई निष्कासन गर्दा संसदमा आफ्नै बहुमत गुम्ने अवस्था देखिएपछि पछि हटेका थिए । समानान्तर कमिटि गठन गर्दै आएको नेपाल समूहले पार्टीको एकता बचाउन पटक–पटक कोशिस गरेपनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकलकाटे प्रबृत्ति बाधक बनेको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन भन्दै बैशाख २७ गते संसदको बिशेष अधिबेशन आह्वान भएपछि नेपाल पक्षका नेताहरुलाई फकाउने प्रयास गरेपनि एकलौटी निर्णयबाट पछि हट्ने संकेत देखिएको छैन ।
आइतबार दिउँसो अन्तिम प्रयास भन्दै दुवै पक्षका नेताहरुले सहमतिको प्रयास गरे पनि सफल हुन सकेन । खनाल नेपाल पक्षका सांसदहरुले दिन लागेको राजीनामा रौक्ने प्रयासमा मत्रै ओली पक्ष केन्द्रित भएपछि सहमति नभएको हो । बरु विगतका निर्णयबाट पछि हट्नुको साटो अध्यक्ष ओली पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पु¥याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन्, कसैलाई पार्टीमा काखा पाखा हुँदैन भन्दै विज्ञप्ती निकालेर एमाले बिभाजन भैहालेमा आफू दोषी नभएको भ्रम पार्न उद्धत देखिनुभएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने जिकिर गर्दै पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्ता पंक्तिलाई आह्वान गर्दैगर्दा एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न सांसदमाथी ह्वीप जारी नै गरेको छ ।
अर्कोतिर पार्टी पद्धती अनि सामुहिक निर्णयबाट अघि बढ्न नचाहाने ओलीलाई साथ दिन नसक्ने निष्कर्षमा नेपाल–खनाल पक्षका सांसदहरु पुगेका छन् । एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । समानुपातिक सांसदको पद रिक्त भएमा पार्टी संसदीय दल मार्फत पदपूर्ती गर्न मिल्ने भएकाले १२ समानुपातिक संसद रहेको नेपाल –खनाल पक्षबाट २० देखी २२ जना संसदको पद मात्रै रिक्त गराउने गृहकार्य भइरहेको छ ।
खनाल–नेपाल पक्षका २० जना सांसदले सोमबारको संसद बैठक अगाडी नै राजीनामा दिएको अवस्थामा एमालेसँग १०१ जना सांसद रहन्छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाउने बहुमतका लागि थप २३ सांसद अपुग हुन्छ । जनता समाजवादीको उपेन्द्र बाबुराम पक्ष ओली सरकार गिराउनुपर्ने पक्षमा खुलेका कारण र नेपाली कांग्रेस र माओवादी केन्द्रले बैकल्पिक सरकारकै कसरत सुरु गरेकाले प्रधानमन्त्री ओलीका लागि बहुमत सिद्ध गराउन निक्कै गाह्रो पर्ने देखिन्छ ।