विराटनगर । अक्सिजन नेपालमै उत्पादन हुने भएपनि अक्सिजन भर्नका लागि चाहिने सिलिन्डर भने भारत र चीनबाट आयात हुँदै आएको छ । कोरोना महामारीको संभावित जोखिमलाई मध्यनजर गर्दै सिलिण्डर आयात गर्नुपर्ने आवश्यकता परेकोले सरकारले सहजीकरण गर्नुपर्ने विराटनगरका अक्सिजन उत्पादकहरुले माग गरेका छन् ।नेपालमा अहिलेकै अवस्थामा तत्काल सिलिण्डरको समस्या नभएपनि जटिल अवस्थालाई मध्यनजर गर्दै २० हजारदेखि ४० हजार सिलिन्डर आयात गर्नुपर्ने उत्पादकहरुले बताएका हुन् । अपर्झट पर्ने भएका कारण आयातको प्रक्रियालाई सरलीकरण गरिनुपर्ने माग अक्सिजन उत्पादक कम्पनिका सञ्चालकहरुले गरेका हुन् ।
अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि उत्पादकहरूले सिलिन्डरको आयात गर्दा भंसार दरमा सहुलियत दिन आग्रह गरेका हुन् ।
कोभिड–१९ को दोस्रो लहरको महामारीलाई दृष्टिगत गर्दै भारत लगायतका मुलुकले अक्सिजन सिलिन्डर लगायतका सामग्रीको पैठारीमा छुट दिएको भन्दै व्यवसायीले नेपालमा पनि सहुलियतको माग राखेका हुन् ।
नेपालका अक्सिजन उद्योगले चीनबाट सिलिन्डरको ल्याउँछन् । मारुती अक्सिजन उद्योगका सञ्चालक शंकरलाल अग्रवालका अनुसार फलामे वस्तुमा एक वर्ष यता विश्वव्यापी रूपमा भएको मूल्यवृद्धिले अन्तर्राष्ट्रिय बजारमा सिलिन्डर पनि महँगो भएको छ । सरकारले छुट दिए अक्सिजन आपूर्ति व्यवस्थापनमा सघाउ पुग्ने उनको भनाई छ ।
सिलिन्डरको पैठारीमा सरकारले १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र भ्याट तोकेको छ । यसमा ढुवानी खर्च पनि जोड्दा ५० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ । त्यसैले सरकारले अहिलेको महामारी पार लगाउन शून्य वा १ प्रतिशत महसुलमा सिलिन्डरको आयात गर्न पाउने सुविधा दिनुपर्ने उद्योगीहरुको धारणा छ ।भारतको अवस्थाले नेपालमा अझ भयावह स्थिति आउने अवस्था देखिएको छ । सिलिन्डर आयातको लागि एलसी खोलेको २ महिनापछि मात्र यहाँ आइपुग्छ । त्यसैले सरकारले अहिले नै सचेत हुनु आवश्यक रहेकोले आजैदेखि तयारी तीव्र बनाउनु पर्ने उद्योगीहरुको सुझाव छ ।
विनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले दुई सातायता घरघरमा व्यक्तिगत रूपले अक्सिजन सिलिन्डर खरिद गरेर फिर्ता नगर्ने प्रवृत्ति बढेकोले हाहाकार हुनसक्नेतर्फ सरकार सचेत हुनुपर्ने औल्याउनुभयो । व्यक्तिका घरमा पुगेका फिर्ता नहुने र अस्पतालमा तीन गुणाले माग बढ्ने अवस्थासम्म हामी छौं, यहि अवस्था रहँदा सिलिण्डर अभाव हुनसक्ने उद्योगी शारडाको बुझाई छ ।मोरङका उद्योगहरूले विराटनगरसहित सुनसरीका इटहरी र धरान तथा झापाका दमक, बिर्तामोड, काँकडभिट्टा र भद्रपुरसम्म सिलिन्डरको आपूर्ति गरिरहेका छन् ।
विनायकले अक्सिजनका दैनिक ५ सय र मारुतीले दैनिक ३ सय सिलिन्डर रिफिल गर्ने क्षमता छ ।
कोभिडका लागि भनेर सिलिण्डर आयात गर्दा समय लाग्छ । यसकारण समय समयमा उद्योगहरुले केही संख्यामा सिलिन्डर किनेर राख्ने गरेको बताएका छन ्। गत वर्षभन्दा थपे पनि अस्पतालहरुमा पठाएको सिलिण्डर लामो समयसम्म होल्ड बस्ने गरेको छ ।
महामारीको समयमा अक्सिजनको माग बढे पनि मूल्य भने बढेको छैन । आयातित सिलिन्डरको मूल्य बढेर आएको छ । गत वर्षदेखि नेपालमा मूल्य नबढेको संघले जनाएको छ ।
हाल १० लिटर अक्सिजन सिलिन्डरको रिटेल मूल्य २५० रुपैयाँ र ४७ लिटर सिलिन्डरको ६ सय रुपैयाँ नै कायम रहेको उत्पादकहरुले बताएका छन् । उपभोक्ताहरुले धरौटीमा पनि लग्ने गरेका छन् भने केहीले १० लिटरको ९ हजार रुपैयाँ र ४७ लिटरको १८ देखि २० हजार रुपैयाँमा खरिद गरेर समेत लाने गरेका छन् ।




















