सुनसरी / जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाएको छ । आरक्ष कार्यालयले सूचना जारी गर्दै आज बाट लागु हुने गरी बैशाख ७ गते सम्मको लागि पर्यटक तथा सर्वसाधारणलाई आरक्ष प्रवेशमा रोक लगाइएको जनाएको छ ।

आरक्षले चार पाङग्रे बन्द गाडी सहितका पर्यटक आएमा प्रवेश दिइने बताए पनि जोखिम रहेकाले भैपरी अवस्था बाहेक सके सम्म तत्काल आरक्ष क्षेत्रको भ्रमणमा नआउन भनेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले आरक्षमा मकुना सहितका जंगली हात्तीको गतिविधि बढेकाले जोखिम देखिएको हुदा सम्भावित दुर्घटनाबाट जोगाउन आरक्ष प्रवेशमा रोकको निर्णय गरिएको बताउनु भएको छ । 

कार्यालयका अनुसार आरक्ष भित्र जंगली हात्तीको थप झुण्ड समेत देखिएको छ । सो कारण समेत आरक्षमा आगन्तुक लगायतको प्रवेशमा पूर्ण रोक लगाइएको जनाएको छ ।