काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आज बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार आज दिउँसो १२ः३० शेयर बाँडफाँट हुने भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाउनेछन् । कम्पनीको आइपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ ।

त्यस अनुसार करिब ६७ प्रतिशत अर्थात करिब १२ लाख १० हजार जनाले शेयर नपाउने देखिन्छ । फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।