धरानमा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता हुने भएको छ। एमसी ग्ल्यामर इन्टरटेनमेन्ट धरानको आयोजनामा ‘मिस लुमियर नेपाल २०२१’ नामकको सौन्दर्य प्रतियोगिता हुन लागेको हो ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक सरला श्रेष्ठले जानकारी दिइन । ‘धरान, प्रदेश १ र देशलाई नै विदेशसम्म चिनाउन र काठमाडौँ केन्द्रित हुने यस्ता प्रतियोगिता काठमाडौँ बाहिर पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन पनि धरानमा यो प्रतियोगिताको आयोजना हुन लागेको हो ’ उनले भनिन् ।

प्रतियोगिताको अडिसन नेपालभरका ८ सहरमा आयोजना हुने बताइएको छ । काठमाडौँ, पोखरा, हेटौँडा, दमक, इलाम, धनकुटा, इटहरी र फाइनल धरानमा हुने उनले जानकारी दिइन । चैतको दोस्रो सातादेखि अडिसन थालिने र जेठ १ गते फाइनल प्रतियोगिता आयोजना हुने उनले जानकारी दिइन् । यस्तै, वैशाख २ गतेदेखि एक महिनाको तालिम पश्चात् फाइनल प्रतियोगिता आयोजना हुने उनले बताइन ।

कोरियोग्राफर सिम्रन श्रेष्ठले प्रतियोगिताको फाइनल राउण्डमा एक जना विदेशकै ‘जज’ ल्याइने र अन्य नेपालकै जज रहने जानकारी दिइन् । ‘धेरैजसो अन्य प्रतियोगिता काठमाडौँ केन्द्रित छन्, योङ टयालेन्टले काठमाडौँ पुगेर प्रतियोगितामा भाग लिन समेत नपाउने अवस्था छ, त्यसैले प्रतिभावान युवाहरूलाई अधिकतम सहभागी गराउने उद्देश्य सहित पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको इभेण्ट धरानमै आयोजना गर्ने योजना बनाएका हौँ, आयोजक तथा कोरियोग्राफर सिम्रन श्रेष्ठले थपिन्, ‘फाइनलमा विदेशबाट एक जना र अन्य स्वदेशकै निर्णायक रहनेछन् ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताका लागि १८ देखि ३० वर्ष उमेर समूहका युवतीले भाग लिन पाउनेछन् भने ५ फिटदेखि माथि उचाइ भएको हुनुपर्नेछ ।

‘युवायुवती र महिलाका लागि कन्फिडेन्ट लेबल बढाउन, व्यक्तित्व विकासका लागि पनि यस्तो प्रतियोगितामा महत्त्वपूर्ण छ भन्ने मेरो अनुभव छ’, मिस पूर्वाञ्चलको फस्ट रनर अप २०१७ र मिस लुमियर इन्टरनेशनल २०१९ की विजेता समेत उनले भनिन्, ‘त्यसैले विजेता बन्न र व्यक्तित्व विकासका लागि पनि यस्तो प्रतियोगितामा भाग लिऔं ।’

प्रतियोगिताका विजेताले नगद एक लाख रुपैयाँ साथै मलेसिया र सिङ्गापुरमा आयोजना हुने ३५ देशका प्रतिस्पर्धी सहभागी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘मिस लुमियर इन्टरनेशनलमा पनि भाग लिन पाउने आयोजकले जनाएको छ ।