‘म ठूलो भएपछि नर्स बनेर बिरामीको सेवा गर्छु,’ भक्तपुरकी भुवनेश्वरी कर्माचार्यले कक्षा ८ मा पढ्दा नै नर्स बन्ने सपना बुनेकी थिइन्। आफूभन्दा सिनियर दिदीहरु नर्स बनेको देखेर उनमा पनि नर्स बनेर बिरामीको हेरचाह गर्ने इच्छा जागेको थियो।

उनको सपनामा परिवारले पनि साथ दिए। २०५३ सालमा एसएलसी पास भएपछि भुवनेश्वरीले नर्सिङ अध्ययनका लागि महाराजगञ्ज नर्सिङ क्याम्पसमा इन्ट्रान्स परीक्षा दिइन्। नाम पनि निस्कियो।  

२०५४ सालमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा पिसिएल नर्सिङ अध्ययन सुरु गरेकी उनले २०५७ सालमा पूरा गरिन्। 

पढाइ पूरा गरेपछि उनले ह्याम्स अस्पतालमा नर्सिङ स्टाफको रुपमा ६ महिना काम गरिन्। ह्याम्स अस्पताल उनको घरबाट टाढा थियो। त्यसैले भक्तपुर क्यान्सर अस्पतालमा नर्सिङ स्टाफको लागि आवेदन दिइन्। नाम निस्कियो। घर पायक पर्ने अस्पतालमा काम गर्ने अवसर पाउँदा उनी खुसी थिइन्। २०५९ साल वैशाखदेखि उनले भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको सेवा गर्न थालिन्।

विभिन्न रोग तथा समस्याले बिरामी परेकाहरुको सेवा गर्नु नर्सको धर्म थियो। उनले पढेकी थिइन्, ‘अस्पतालमा भर्ना भएका बिरामीलाई निको पार्न नर्सिङ स्टाफको भूमिका महत्वपूर्ण हुन्छ। म पनि आफ्नो जिम्मेवारी मन लगाएर पूरा गर्नेछु।’

भुवनेश्वरीले भक्तपुर क्यान्सर अस्पतालमा काम गर्दाका सुरुवाती वर्षहरुमा उक्त अस्पताल ३५ बेडको मात्रै थियो। अस्पतालमा एउटा मात्र वार्ड भएकाले क्यान्सर भएर केमोथेरापी गर्ने, शल्यक्रिया गर्ने, गम्भीर अवस्थाका बिरामी सबै एउटै वार्डमा हुन्थे। उनी नर्सिङ इन्चार्जको निर्देशन अनुसार क्यान्सरका बिरामीको सेवामा खटिन्थिन्।

अस्पतालको बेडमा केही समयअघि मात्र हाँस्दै–बोल्दै गरेका बिरामी एकैछिनमा छटपटाउँथे। कतिपय बिरामीको उपचार गर्दागर्दै मृत्यु भएको उनले आफ्नै आँखाले देखिन्।

क्यान्सर लागेर निको नै पार्न नसक्ने गरी अन्तिम अवस्थामा पुगेका बिरामीहरु त्यतिबेला बढी आउँथे। जसले गर्दा चिकित्सकले चाहेर पनि उनीहरुलाई बचाउन सक्दैनथे।

क्यान्सरका बिरामीहरु आफ्नै आँखाअघि प्राण त्यागिरहेको देख्दा भुवनेश्वरीको आँखा मात्र रसाएनन् सुरु–सुरुमा त उनी क्यान्सर वार्डमा काम गर्दा मानसिक रुपमा विचलित नै बनिन्।

‘क्यान्सर लागेर अन्तिम अवस्थामा पुगेका बिरामीको अस्पतालमा मृत्यु भएको देख्दा त म आफैं डिस्टर्ब नै भएँ,’ कर्माचार्यले विगत सम्झिन्, ‘आखिर रोग लागेपछि जिन्दगी मरेरै जाने रहेछ, किन पढ्नुपर्‍यो, किन काम गर्नुपर्‍यो जस्तो लाग्न थाल्यो।’

तर, उनी नर्स हुन्। त्यसैले बिरामीको केयर गर्ने जिम्मेवारीबाट भनेपछि पछि हट्न चाहिनन्। बिरामीको मृत्युमा रोइरहेका उनका आफन्तलाई सम्झाउनु उनको कर्तव्य थियो। त्यसैले आफ्नो मनलाई दह्रो बनाउँदै बिरामीका आफन्तलाई सम्झाउँथिन्।

विशेषगरी स–साना बालबालिका भएका आमाहरु तथा युवा अवस्थामै रहेका व्यक्तिको क्यान्सर लागेर मृत्यु हुँदा उनी बढी भावुक हुन्छिन्। तर क्यान्सरकै बिरामीको केयरमा लागिरहँदा उनलाई बानी पनि पर्दै गएको छ। किनकी उनले सेवा दिने वार्डमा बिरामी नै अन्तिम अवस्थामा आएका हुन्थ्ये। 

२०५९ साल वैशाखदेखि भक्तपुर क्यान्सर अस्पतालमा नर्सिङ स्टाफको रुपमा सेवा दिन सुरु गरेकी भुवनेश्वरी अहिले मेडिकल अंकोलोजी वार्डमा नर्सिङ इन्चार्जको रुपमा कार्यरत छिन्। विभिन्न खालका क्यान्सर भएर उपचारका लागि भर्ना भएका बिरामीको केयर तथा अन्य नर्सिङ जनशक्तिको व्यवस्थापनमा व्यस्त रहन्छिन् उनी।

आजभोलि मानिसहरुमा क्यान्सर रोगबारे सचेतना बढ्न थालेको छ। त्यसैले क्यान्सरका बिरामी जटिल अवस्थामा मात्र नभई सुरुकै अवस्थामा आउने क्रम पनि सुरु भएको छ। सुरुवाती अवस्थामै उपचारका लागि अस्पतालमा आएका क्यान्सरका बिरामीहरु निको भएर घर फर्किंदा उनी खुसी हुन्छिन्।

क्यान्सर निको भएर घर फर्किएका बिरामीलाई बिदाई गर्दैगर्दा कर्माचार्य मनमनै कामना गर्छिन्, ‘यो बिरामी फेरि फर्केर नआओस्।’

सरकारले दिने सहयोगले पुग्दैन
भक्तपुर अस्पतालमा १६ वर्षदेखि क्यान्सरकै बिरामीको केयरमा खटिँदै आएकी भुवनेश्वरीले धेरैथरीका बिरामीको व्यथा र पीडा नजिकबाट नियालेकी छन्।

हुन त क्यान्सरलाई सरकारले कडा किसिमको रोगको रुपमा परिभाषित गर्दै स्वास्थ्य उपचारमा केही सहुलियत दिएको छ। तर सरकारले दिएको सहुलियत क्यान्सरका बिरामीका लागि पर्याप्त छैन। 

क्यान्सर लागेर उपचार गराउनुपर्छ भन्ने जानकारी भएर पनि कतिपय बिरामीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन सक्दैनन्। भक्तपुर क्यान्सर अस्पतालमा कहिलेकाहीँ यस्तोसम्मका बिरामी उपचारका लागि आउँछन् जोसँग बिहान र बेलुका छाक टार्ने खर्च समेत हुँदैन।

त्यस्ता बिरामी र बिरामी कुरुवा देख्दा उनको मन अमिलो हुन्छ। तर सधैं काम गरिरहने ठाउँमा नियमित देखिएका यस्ता समस्याको समाधान गर्न उनी आफुले चाहेर पनि सक्दिनन्।

कहिलेकाहीँ अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा भोकभोकै भएको देख्दा भने उनी चुप लागेर बस्न सक्दिनन्। आफूसँग भएको पैसा पनि ती बिरामी कुरुवालाई दिन्छिन्।

‘कहिलेकाहीँ त बिरामी र कुरुवासँग खाना खाने खर्च पनि हुँदैन, त्यस्तो हुँदा आफैसँग भएको पैसा पनि दिन्छु,’ उनले भनिन्, ‘त्यसरी खर्च दिँदा उनीहरु धेरै खुसी हुन्छन्।’ धेरैजस्तो बिरामी उस्तै प्रकृतिको समस्या आउने हुँदा सबैलाई सहयोग गर्न भने सम्भव नहुने उनले बताइन्।

उपचार खर्च धान्न नसकेर उपचार पूरा नगरी बीचैमा घर फर्किनेहरु पनि भएको भुवनेश्वरीले बताइन्। सरकारले क्यान्सरका बिरामीलाई दिने एक लाख रुपैयाँको सहुलियत बिरामीका लागि निकै कम भएको उनको तर्क छ।

‘कतिपय बिरामी पूरा साइकल केमो नै नगरी घर फर्किनुहुन्छ,’ उनले भनिन्, ‘सरकारले दिने सहुलियतले त बिरामीलाई पुग्दैपुग्दैन, एक लाख रुपैयाँ सहयोग क्यान्सरका बिरामीलाई न्यून नै हो।’ गरिब तथा विपन्न बिरामीका लागि उपचार खर्चमा सरकारले अझै सहयोग गर्नुपर्ने उनले बताइन्।

क्यान्सरकै बिरामीको सेवामा लागिरहन्छु 

नर्स भुवनेश्वरीको २०६२ सालमा प्रेम विवाह भयो। परिवारमा अहिले श्रीमान्, छोरा र छोरी छन्। परिवारले उनी र उनको पेसालाई बुझेका छन्। त्यसैले आफ्नो पेसामा लागिरहन सजिलो भएको छ।

उनले महाराजगञ्ज नर्सिङ क्याम्पसमै बिएन नर्सिङको अध्ययन पनि पूरा गरेकी छन् भने भारतबाट ६ महिनाको 'पेन एन्ड प्यालेटिभ केयर'को तालिम पनि लिएकी छन्।

भक्तपुर क्यान्सर अस्पतालमा नर्सिङ इन्चार्जको रुपमा कार्यरत कर्माचार्य आफ्नो जीवन नर्सिङ सेवामै समर्पित गर्ने बताउँछिन्। ‘नर्सिङ पेसामा रहँदासम्म क्यान्सरकै बिरामीको सेवामा खटिन्छु,’ उनी भन्छिन्, ‘क्यान्सरकै बिरामीको सेवा गरेर उनीहरुको जीवन सहज बनाउन सहयोगी भएर काम गर्छु।’