मनमोहन जोशी ।

हो, म हो म मात्रै हो !
एक दलाल पुँजीवादी
जस्ले समाजवादी राष्ट्रको
सत्ता सञ्चालन गरिरहेको
सरकार लाई उस्को साम्यवादी
लक्ष्यमा पुग्नकालागि बिघौ बिघा जमीन
हड्पेर जमिनदार बनिरहेको थिएँ ।

अनि मै त हो नी!
यो राज्यको बडेमानको काठ तस्कर
जसले आरक्षनै सखाप हुनेगरी
संरक्षित सूचीमा रहेका खुबै मूल्यवान
काठको तस्करी गरिरहेको थिए ।

सरकार सत्ता र नेता खुबै आतंकित थिए
मेरो अवैधानिक कार्यले गर्दा
अनि कम्युनिष्ट नीति सिद्धान्त त मेरो कारणले गर्दा
खुबै बद्नाम हुँदै थियो यो मुलुकमा
बडा दुःखले आर्जेको यो कम्युनिस्ट राज्य सत्ता
मैले नै त भाडे
र दलाल राज्य सत्ता पुनर्जिवित
गर्न खोज्दै थिए ।

आज बल्ल यो देश अब शान्त हुनेभयो
म जस्तोको आलिसान संसार तहस नहस गरेर
मेरो सुन्दर प्रकृतिले मलाई हल्लाउन न सकेको
मेरो तानाशाही व्यवस्थामा आगो झोसेर
मेरो अधिनायकत्व भाडेर
म जमिनदार,म सामन्त, म पूँजीपतिलाई समेत
आज यो समाजवादी राज्य सत्ताले साम्यवादी बनाउन
सफल भयो ।

बधाइ छ यो कम्युनिस्ट समाजवादी सरकारलाई
अब यो साम्राज्यमा कोहीपनि गरिब रहेन
अब कोही पनि जमिन्दार रहेन
अब कोही पनि पूँजीपति रहेन
रह्यो त केवल यो सिङ्गो राज्य साम्यवादी रह्यो

बधाइ छ सरकार तिमी सफल भयौ