काठमाडौं । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत नेपाली कृषिवस्तुको माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको छ । जुम्ला जिल्लाबाट पहिलोपटक छ लाखभन्दा बढीका चालम र सिमी जापान निर्यात भएका हुन । अर्ग्यानिक्स एण्ड सुपरफुड बाट तीन टन मार्सी र सिमी निर्यात भएको सञ्चालक राज शाहीले जानकारी दिए ।

व्यवसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ पहिलोपटक यी सामग्री निर्यात भएको जानकारी दिदै शाहीले भने ‘टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल र मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ ।’ कर्णालीका खाद्य पदार्थ व्यावसायिकरूपमा निर्यात भएको यो नै पहिलोपटक भएको स्थानीयवासीहरु बताउँछन् । जुम्ली मार्सी र सिमीका माध्यमबाट नेपाल नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको यो निर्यातलाई थप विस्तार गरिदैछ ।
क्यानडा निर्यातको अन्तिम तयारी
यस्तै, बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी तथा एक टन हरियो केराउ र कोदोको क्यानडामा माग भएको सञ्चालक शाहीले जानकारी दिए । क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलसँगको समन्वयमा यी वस्तु निर्यात गर्न लागिएको हो । निर्यात हुने हरेक सामाग्रीमा ‘कर्णाली सुपरफुड’ प्रतीक चिह्न हुने सुपरफुडले जनाएको छ ।

अहिले प्याकेजिङ भइरहेको जनाइएको छ । ‘जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्,’ ‘क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले अलिक गाह्रो भइरहेको शाहीले जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अग्र्यानिक्स’बाट समेत कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, आयुर्वेदिक चिया , चिनो, कागुनो र टिमुरको विक्रिबितरण भइरहेको छ ।