काठमाडौं । नेपाल कृर्षि प्रधान देश । तर, कहिल्यै पनि सरकारको प्राथमिकतामा पर्दैन । किनकि हरेक बर्ष किसानले रासायनिक मल पाएनौं भन्दै नाराबाजी र धर्ना दिने परम्परा जस्तै बनिरहेको छ । उखु किसानले समयमै भुक्तानी नपाउँदा काठमाडौंमै आएर आन्दोलन तथा धर्ना बस्नु परेको छ । गत बर्ष मात्रै सरकारले समयमै रासायनिक मल आपुर्ती गर्न नसक्दा किसान निरास भए । ठेकेदार कम्पनीको बद्मासीका कारण समयमै किसानले खेतवारीमा रासायनिक मलको प्रयोग गर्न पाएनन् । त्यसैले पनि यसबर्ष सरकार रासायनिक मल आयातमा अलि चनाखो देखिएको छ ।

अझ भनौ पहिलो पटक उत्तरी सीमा नाका तातोपानीबाट नेपालमा रासायनिक मल भित्र्याइएको छ । खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामग्री आयात हुनेगरेको तातोपानी नाकाबाट ४ हजार टन रासायनिक मल भित्र्याइदैछ । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत रासायनिक मल फागुन २३ गतेदेखि भित्रिरहेको छ । अहिलेसम्म २ सय ८० टन युरिया मल भन्सारमा आइपुगेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको बताइएको छ । यसअघि दक्षिणी नाकाहुँदै वीरगञ्जबाट मात्र रासायनिक आयात हुने गरेको थियो । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल पहिलो पटक तातोपानी भन्सारबाट नेपाल भित्र्याएको हो । कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ ।

चीनबाट ५ दिनमा नाकासम्म र एकसाताभित्र काठमाडौंसम्म पुर्याउन सकिने दाबी सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाको दाबी छ । उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरुलाई मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने देखिन्छ । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिटै प्रयोग गर्न पाउने छन् । चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डर मार्फत सिल्कले अनुमति पाएको हो । भारत हुँदै ल्याउने बिकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो । तातोपानी नाकाबाट मल आउन सके किसानलाई समयमै सहजै मल उपलब्ध गराउन सकिने र अभाव समेत टर्ने दाबी गरिएको छ । उत्तरी नाका तातोपानीबाट आएको रासायनिक मल किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा खरिद गर्न पाउनेछन् ।

urea-1024x612

बंगलादेशबाट जीटुजीमार्फत् मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात शुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने सरकारी पक्षको दाबी छ । आयात गरिएको प्रत्येक कन्टेनरमा ५ सय वटा बोरा रासायनिक मल हुन्छ । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । ४० फिट लामो कन्टेनरले मल भन्सार कार्यालयसम्म पुर्याइरहेको छ । मलको प्रतिबोरा औषत खरिद मूल्य २ हजार ३ सय २२ रूपैयाँ ४४ पैसा पर्छ ।

१ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, बिदुरका किसानले ८ सय ८८ रुपैयाँ ६७ पैसा प्रतिबोरामा मल खरिद गर्न पाउनेछन् । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान ल्याउदा सबैभन्दा बढी मल आयात भइरहेको छ । मल साल्ट ट्रेडिङले गाउँपालिका र नगरपालिका मातहतबाट बिक्री तथा वितरण गर्नेछ ।