काठमाडौं । बिजुली प्रयोग गरे वापत विद्युतीय माध्यमबाट भुक्तानी गर्नुहुन्छ भने अब तपाईले थप शुल्क तिर्नुपर्ने भएको छ ।नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालये तयार पारेको विवरण अनुसार ५००रुपैयाँसम्मको महसुल तिर्दा भने थश शुलक लाग्ने छैन । यस्तै, ५०१ रुपैयाँ भन्दा माथि महसुल तिर्नेले भने थप ५ रुपैयाँ  शुल्क तिर्नुपर्नेछ । यस्तै ५ लाख रुपैयाँसम्मको महसुलमा अधिकतम सेवा शुल्क ५ प्रति कारोवार तिर्नुपर्ने हुन्छ ।

प्राधिकरणले विद्युतीय माध्यमबाट विद्युत् महसुल संकलन गर्ने गराउने कार्यको प्रस्ताव स्वीकृत भएको जानकारी सहित सेवाप्रदायक संस्थाले १५ दिनभित्र तोकिए बमोजिमको बैंक जमानत लिई सम्झौता गर्न आउनुपर्ने व्यवस्था गरिएको छ ।

विद्युतीय भुक्तानीलाई थप सहज बनाउन शुल्क घटाउनुपर्ने अवस्थामा शुल्क लिने व्यवस्थाले ग्राहकलाई मर्का पर्ने र उनीहरु भड्किने सम्भावना रहेको भन्दै आलोचना पनि भएको छ ।

प्राधिकरणले विद्युतीय कारोवार एवम् भुक्तानीका लागि प्रस्ताव पेश गर्दा सेवाप्रदायकले कार्य गर्ने क्षेत्र, सेवाप्रदायकको सञ्जाल एवम् एजेन्सीको विवरण उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै, सेवाप्रदायकले प्राधिरकणको आय प्रणालीमा आवद्ध गर्ने व्यवस्था, सेवाप्रदायकले प्राधिकरणलाई उपलब्ध गराउने सफ्टवेयर एवम् उपकरण, प्राधिरकणले समन्वय गरी कार्य गर्ने तौर तरिका, संकलित रकम प्राधिरकणमा जम्मा गर्ने समय, तरिका र सो को सुरक्षण सम्बन्धी व्यवस्था गर्नुपर्नेछ ।

विद्युत् महसुल संकलन गर्ने प्रयोजनाका लागि सेवा प्रदायक संस्थाले अवल्म्बन गर्ने प्रविधिबाट प्राधिरणको आय तथ्यांकको गोग्यता र सुरक्षा प्रयाप्त रहने प्रतिवद्धतापत्र समेत उपलब्ध गराउनुपर्नेछ ।

महसुल संकलन गर्दा बहु विकल्प प्रविधिहरु जस्तै बैंक मार्फत भुक्तानी, पिओएस टर्मिनल, मोबाइल एपआदि जस्ता बढी भन्दा बढी माध्यमबाट महसुल भुक्तानी लिई ग्राहकलाई बढी भन्दा बढी सुविधा दिन सक्ने आधार जरुरी पर्दछ ।त्यस्तै, सेवा प्रदायकले कम्तीमा ५ जना विषयगत प्राविधिक दक्ष जनशक्ति भएको विवरण समेत पेश गर्नुपर्नेछ ।

प्राधिकरणले महसुल संकलन व्यवस्थापन समिति समेत गठन गरेको छ । त्यसमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक संयोजक रहेको समिति रहनेछ ।

योजना तथा प्राविधिक सेवा विभागका निर्देशक, सूचना प्रविधि विभागका निर्देशक, वित्तीय विभागका निर्देशन, बिलिङ तथा नेटवर्क महाशाखाका प्रुमख सदस्य रहनेछन् । त्यस्तै , वितरण तथा ग्राहक सेवा निर्देशनालयका अर्थ महाशाखा प्रमुख सदस्य सचिव रहनेछन् ।

सेवा प्रदायकले सकंलन गरेको महशुल रकम सोही दिन प्राधिकरणले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

महसुल संकलन भएको दिन र्नै प्राधिकरणको खातामा जम्मा हुन नसकेमा तत्काल अर्को दिन उक्त रकम प्राधिकरणको खातामा जम्मा हुनुपर्नेछ ।

दैनिक संकलित रकम लगातार २ कार्यालय दिनसम्म प्राधिकरणको खातामा जम्मा नगरेमा निज सेवा प्रदायक मार्फत भईरहेको महशुल संकलन कार्य बन्द गरि निजले राखेको बैंक ग्यारेन्टी जफत गर्न गरिनेछ ।

उक्त संस्थाले संकलन गरेको रकम वैंक ग्यारेन्टीले नपुग भएमा बाँकी रकम सेवा प्रदायक संस्था तथा संस्थाका संचालकहरुबाट समेत सरकारी बाँकी सरह असुल उपर गर्ने प्रावधान प्रस्ताव गरिएको छ ।

सेवा प्रदायकले ग्राहकको सर्वोपरी हित र सुविधालाई ध्यानमा राखि महशुल संकलनको कार्य गर्नु पर्ने, त्यस्तो कार्य गर्दा कुनै ग्राहकलाई मर्का परी क्षतिपुर्तिको माग दाबी गरेमा विवाद समाधान समन्वय समितिको निर्णय अनुसार हुने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकले विद्युत महशुल संकलन कार्यको लागि प्रचार प्रसार गर्नु परेमा प्राधिकरणसंग समन्वय गरि गर्नु पर्नेछ । प्राधिकरणको लोगो राखि विल विजक जारी गर्नु पर्ने अवस्थामा प्राधिकरणको सहमति लिनु पनि पर्नेछ ।

विद्युत महशुल संकलन सम्वन्धी कारोवार गर्दा गराउँदा प्रचलित ऐन, नियम, विनियममा भएको व्यवस्था र प्राधिकरणले समय समयमा दिएको परिपत्र एवं निर्देशनहरु बमोजिम गर्नुपर्नेछ ।

विद्युत महशुल संकलन कार्य व्यवस्थापन गर्न आवश्यक पर्ने जनशक्तिको समेत व्यवस्थापन गर्नुपर्नेछ । सम्झौताको अवधि समाप्त भई नवीकरण नभएमा, दुवै पक्षको आपसी सहमतिमा सम्झौता अन्त्य गर्ने निर्णय भएमा वा सेवा प्रदायक विघटन भएमा सम्झौता अन्त्य भएको मानिनेछ ।

प्राधिकरणले दिएको जानकारी बमोजिम सम्वन्धित सेवाप्रदायक संस्थाले तोकिएको अवधिभित्र बैंक जमानतको नवीकरण गरी पेश नगरेमा तथा संकलित महशुल रकम प्राधिकरणको खातामा जम्मा नगरेको कारण बैंक जमानत रकम जफत भएमा पनि सम्झौता सकिनेछ ।

सेवा प्रदायकले वहन गर्नुपर्ने जिम्मेवारी र दायित्व पालना नगरेको कारण प्राधिकरणले निजसंग भएको सम्झौता रद्द गर्ने निर्णय गरेमा पनि सहमति अन्त्य हुने छ ।

महशुल संकलन कार्य गर्दा गराउदा प्राधिकरणको आय तथ्यांकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेछ । महशुल संकलन गर्दा ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखि ग्राहकलाई असुविधा वा हानि नोक्सानी हुन नदिने तर्फ विशेष ध्यान दिनुपर्नेछ ।

महशुल संकलन कार्यमा ग्राहकको गुनासो तत्काल सम्बोधन गर्ने र सेवा प्रदायकको कारण कुनै ग्राहकलाई हानी नोक्सानि भई क्षतिपुर्तिको मागदावी भए सेवा प्रदायकले क्षतिपुर्ति दिनुपर्ने कार्यविधिमा प्रस्ताव छ ।