att.s8i3HfgYGKB4QJA8RD9xFBA_No6fnmWrL_3XMRS0LAoकेशव सिग्देल(पवन) 

इटहरी । नेपाली फिल्म क्षेत्रमा युवा फिल्मकर्मी हर्ष यादवले चलचित्र ‘प्रतिवैरम्’ मार्फत निर्माताका रूपमा औपचारिक यात्रा सुरु गरेका छन्। मधेसको सामाजिक परिवेश, त्यहाँका संघर्ष र स्थानीय कथावस्तु नेपाली चलचित्रमा अपेक्षाकृत कम प्रस्तुत भइरहेको महसुस भएपछि आफू फिल्म निर्माणमा जोडिएको यादवले बताएका छन्।

यादवका अनुसार ‘प्रतिवैरम्’ उनको पहिलो निर्माण भए पनि यसले दर्शकमाझ बलियो प्रभाव पार्ने विश्वास छ। “यो मेरो सुरुवात मात्र हो। आगामी दिनमा पनि निरन्तर फिल्म निर्माणमा सक्रिय रहनेछु,” उनले भने।

हर्ष यादव र सत्यराज चौलागाईं ‘एसआरसी’को मुख्य निर्माण रहेको फिल्म २०८३ मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। फिल्मको रिलिज मिति घोषणा गर्दै निर्माण टिमले शुक्रबार आधिकारिक पोस्टरसमेत सार्वजनिक गरेको हो।

मधेसको सामाजिक जीवन, संघर्ष, प्रेम, पारिवारिक सम्बन्ध र प्रतिशोधलाई कथाको मुख्य आधार बनाइएको फिल्मको प्रचार अभियान अब तीव्र बनाउने तयारीमा निर्माण पक्ष छ। फिल्मसँग सम्बन्धित सामग्री क्रमशः सार्वजनिक गर्दै जाने तयारीमा रहेको टिमले जनाएको छ। अभिनेत्री प्रियंका कार्कीको आइटम नृत्य रहेको गीत पनि चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको छ।

सार्वजनिक पोस्टरमा फिल्मको कथाको गम्भीरता र एक्सनप्रधान शैलीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। आगोको ज्वालाले भरिएको पृष्ठभूमिमा नवनायक सम्राट दासलाई आक्रामक अवतारमा देखाइएको छ। उनले रगतको छिटा परेको अवस्थामा परम्परागत मधेसी पहिरनमा रहेकी प्रमुख महिला पात्र सुप्रज्ञा शर्मालाई अङ्गालोमा सुरक्षित राख्न खोजिरहेको दृश्य पोस्टरमा देखिन्छ।

फिल्मको अर्को विशेषता यसको बहुभाषिक प्रस्तुति हो। ‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा दर्शकमाझ आउनेछ। मैथिली र भोजपुरीमार्फत मधेसका स्थानीय तथा ग्रामीण क्षेत्रका दर्शकसम्म कथा पुर्‍याउने लक्ष्य निर्माण पक्षको छ। हिन्दी संस्करणमार्फत सीमावर्ती भारतीय बजारसहित हिन्दी भाषी दर्शकलाई समेत लक्षित गरिएको छ।

रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई रोशन दासले निर्देशन गरेका छन्। कथा पनि निर्देशक दासकै हो। सिम्पल एड मिडिया, श्रीयन इन्टरटेनमेन्ट र आदर्श प्रोडक्सन्सको सहकार्यमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद युवराज भट्टराईले लेखेका हुन्।

फिल्मका सह-निर्माता अनिश पोखरेल, कार्यकारी निर्माता विक्की साह तथा क्रिएटिभ निर्माता राकेश साह हुन्। छायांकन कृष्ण बर्देवा ‘ज्याक’, सम्पादन कबिर ओड र रङ संयोजन श्याम कुँवरले गरेका छन्।

चलचित्रमा नवनायक सम्राट दास र सुप्रज्ञा शर्माका साथै वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, रमेश बुढाथोकी, प्रदीप ढकाल, रोनी यादव, नवीन श्रेष्ठ र नारायण बी.क. लगायतका कलाकारको अभिनय रहेको छ।

मधेसको कथालाई चार फरक भाषामार्फत देश तथा सीमापारका दर्शकमाझ पुर्‍याउने प्रयासका कारण ‘प्रतिवैरम्’लाई निर्माण पक्षले आफ्नो महत्वाकांक्षी प्रोजेक्टका रूपमा अघि सारेको छ।