काठमाडौँ।  स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाख बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारले वार्षिक रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा पाउनेछन्।

बीमितले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याएर प्रयोग गर्न सक्ने व्यवस्था छ। प्रत्येक अतिरिक्त सदस्यले रु ७ सयको योगदानमा रु २० हजार बराबरको सेवा सुविधा थप पाउने व्यवस्था रहेको छ।

सूचना अधिकारी मल्लले भने, “पाँच जनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरङ्ग सेवा ९ओपिडी० लिन पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका लागि थप रु पाँच हजार बराबरको ओपिडी सेवा कायम गरिएको छ।”

बोर्डले अनावश्यक ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न, तथा गम्भीर रोग र महँगो उपचारका लागि रकम सुनिश्चित गर्न सेवाको रकम छुट्याएको जानकारी दिएको छ। स्वास्थ्य विशेषज्ञहरूले भने, सामान्य ओपिडी सेवामा बीमा रकमको ठूलो हिस्सा खर्च हुँदा गम्भीर रोग परेमा बीमा अपर्याप्त हुने सम्भावना रहेको बताएका छन्। बोर्डले सबै बीमितलाई ओपिडी, अस्पताल भर्ना र शल्यक्रिया खर्च छुट्याइराखिएको रकमको उचित प्रयोग गर्न अनुरोध गरेको छ।