विराटनगर । केही समय अगाडिसम्म अस्तित्वसम्म स्वीकार गर्न हिच्किचाउने नेकपा एमालेले सरकार जोगाउ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई फकाउन थालेको छ ।

सरकारका प्रमुख साझेदार दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएर दिएको समर्थन समेत फिर्ता लिएपछि नेकपा एसलाई सरकारमा सहभागी गराएर बहुमत जुटाउने प्रयत्न सुरु गरेको हो ।

वर्तमान सरकारमा सहभागी भए दुई वटा मन्त्रालय दिने अनौपचारिक प्रस्ताव नेकपा एमालेले पठाएको नेकपा एससँग सम्बन्धित नेताहरुले बताएका छन् । कोशी प्रदेशमा नेकपा एसका चार जना सांसद छन् । दुई जनालाई मन्त्री बनाइदिने आश्वासन दिएको (एस)का एक सांसदले जानकारी दिए । ‘पहिला पनि हामी सँगै थियौं अब पनि ढिलोचाँडो सँगै भइहालिन्छ सँगै काम गरौँ भनेर एमालेका केन्द्रीय नेताहरूले फोन गरिरहनुभएको छ,’ उनले भने ।

केन्द्रीय नेताहरूले सँगै मिलेर काम गरौँ यो सरकारमा सहभागी हुनुहोस् भनेर भन्ने गरेको एसकी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले पनि बताएकी छन् । ‘केन्द्रीय तहका नेताहरूले तपाइहरूसँग मिलेर सरकारले काम गर्न चाहेको छ । सँगै बसेर काम गरौँ नेताहरू बिचमा तीता मिठा भए पनि हामी बिचमा त्यस्तो केही छैन । मुख्यमन्त्री ज्युले तपाईँहरूसँगै बसेर काम गर्ने इच्छा राख्नु भएको छ भनेर फोन आउने गरेको छ’, उनले भनिन् । प्रदेशसभा सदस्य चाम्लिङले कसले फोन गरेको भनेर खुलाउन चाहिनन् । तर उनले मन्त्रीको आश्वासन आएको भने स्वीकार गरिन् ।

विशेष स्रोतका अनुसार चाम्लिङलाई मुख्यमन्त्री कार्कीले केहि समय अगाडी नै फोन गरेका थिए भने अल्पमतमा परेपछि दाजु दीपक कार्कीले फोन गरेका थिए । नेकपा एकीकृत समाजावदीका संसदीय दलका नेता राजेन्द्र राईलाई आलोपाले मुख्यमन्त्री दिन तयार रहेको भन्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।
अर्का एक प्रदेशसभा सदस्यले तपाईँहरू राष्ट्रिय पार्टी पनि नभएकोले विश्वासको मत दिँदा कारबाही नहुने भएकोले फ्लोर क्रस गर्न सक्ने सुझाव पनि दिने गरेको दाबी गरे ।
पाँचथर १ (१) बाट निर्वाचित भएका कमल जवेगु लिम्बूले पनि सरकारमा सहभागी हुने वातावरण बनाउन प¥यो भन्दै फोन आउने गरेको बताएका छन् । ‘पहिला माधव नेपाल समूहका नेता (१०) बुँदेलाई एमाले अध्यक्ष ओली निकटकाले फोन गरेर फकाइदिन भनेर भन्दा रहेछन्’, जबेगुले भने ‘मन चोर्न खोज्छन् । अनि गाली खान्छन् र हाँस्दै फोन राख्छन् ।’ मध्यावधिमा जाँदा तपाइहरूको विचार के छ भनेर बिहीबार मात्र दुई जनाले फोन गरेको उनले बताएका छन् । फोन गर्ने नेताहरूलाई ‘तपार्इँहरुलाई मध्यावधि चाहिएको हो ? भनेर पश्न गरें’, उनले भने । एकीकृत समाजवादीलाई कमजोर छ भनेर मध्यावधिको धम्की दिँदै फोन गर्ने गरेको उनीहरुको बुझाइ छ ।

‘तपाईँ आउनुहोस् जिम्मेवारी दिन्छांै, संसद् बनाउने जिम्मा लिन्छौ भनेर भन्छन्,’ जवाफमा भने उनले ‘अर्को टंक आङबुहाङ बन्नु छैन । ४०÷४२ वर्ष तपाईँहरूसँग लडाइँनै गरेर आएको हुँ । । भनेकपा माओवादी केन्द्रबाट चुनाव जितेका टंक आङवोहाङ नेकपा विभाजन पछि एमालेमा बसेका थिए । त्यसपछि माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद गुमेको थियो । अहिले उनी राजनीतिक रुपमा छायाँमा परेका छन् । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको (सभामुख सहित)१३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । सरकार बनाउन र टिकाउनका लागि ४७ जना सांसद आवश्यक पर्छ । राप्रपाले साथ दिइरहेको खण्डमा एमालेलाई बहुमतका लागि थप एक जना सांसद जुटाउनै पर्ने बाध्यता छ ।

संवैधानिक प्रक्रिया अनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री कार्कीले असार १५ गते भित्रमा विश्वासको मत लिने बताएका छन् । बजेट पछाडि विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । पहिला बजेट त्यसपछाडी मात्रै विश्वासको मत लिने उनले बतएका छन ।