उर्लाबारी, ७ मंसिर । सोमबार उर्लाबारी–८ स्थित एभरेष्ट फन पार्कमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नं. १ को निर्वाचनका लागि मनोनयन भइरहेको थियो । गेट बाहिरदेखि भित्रैसम्म क्षेत्रीय सभापतिमा पुनः एक पटक खड्ग फागोलाई जिताउने पर्चा सजाइएको थियो । यस क्षेत्रमा झुपडीसम्मका काँग्रेसजनका सारथी, पाकादेखि युवा कार्यकर्ताका ढुकढुकी फागोले क्षेत्रीय सभापतिमा उम्मेद्वारी हाल्ने उत्साहमा धेरै कार्यकर्ता मनोनयन स्थलमा जम्मा भएका थिए । 

मनोनयनको समय सकिन केही मिनेटअघि अधिवेशन स्थल पुगेका फागोले जब महाधिवेशन प्रतिनिधिमा मनोनयन दर्ता गराए तब कार्यकर्ताको मुहारको कान्ति हरायो । अनेक तत्वको खेलका कारण फागोलाई क्षेत्रीय सभापति हुन रोकिएको चाल पाएपछि कतिपय आक्रोशित बने भने कतिपय अधिवेशन स्थलमै रुन थाले । पार्टीका संरक्षक, निडर, स्पष्टवक्ता, क्षेत्रमा काँग्रेसलाई चलायमान र दरिलो बनाउने सतिसाल झै खडा भएका खम्बाले पार्टी नेतृत्वबाट हात झिक्नु पर्ने अवस्था सिर्जना भएपछि कार्यकर्ता आक्रोशित हुनु स्वभाविकै थियो । पार्टीभन्दा पनि व्यक्ति प्रधान, स्वार्थी, सीमित दायरामा पार्टीलाई चलाउन खोज्ने तत्वले जब फागोलाई रोक्ने काम गरे तब कार्यकर्ताको आँखामा आँसु देखियो । उनीहरुले अभिभावक विहीन भएको बताए ।

क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिका लागि मंगलबार मतदान भयो । मत गणना भइरहेको छ । तर, यस क्षेत्रका काँग्रेसजन अब खड्ग फागोलाई माथिल्लो नेतृत्वमा जान दबाब दिन थालेका छन् । ‘दुई कार्यकाल क्षेत्रीय समितिको सफल नेतृत्व गरेको व्यक्तिले माथिल्लो नेतृत्वमा जानु स्वाभाविक हो’ एक क्षेत्रीय प्रतिनिधिले भने, ‘पुनः क्षेत्रको नेतृत्व गर्छु भन्दा उहाँलाई रोक्ने काम भयो, अब उहाँ जस्तो डायनामिक लिडरले त्यतिकै बस्न मिल्दैन, जिल्ला सभापतिको उम्मेद्वार बन्नुपर्छ ।’ नेतृत्वमा जानबाट रोक्दै गर्दा अधिवेशन स्थलमै निस्किएका आँसुले पनि उहाँलाई त्यतिकै बस्न नदिने बताउँदै अर्का क्षेत्रीय प्रतिनिधि भन्छन्, ‘दुई कार्यकाल क्षेत्र हाँकिसकेको व्यक्ति अब स्वभाविक रुपमा जिल्ला नेतृत्वको दाबेदार हो, त्यसतर्फ उहाँले पाइला चाल्नु पर्छ ।’ कार्यकर्ताको चाहनाका विषयमा फागोले अहिले नै कुनै प्रतिक्रिया दिएका छैनन् ।