हामीले जे खोजेका छौँ, जे चाहेका छौँ, त्यो फरक छैन, एउटै छ, त्यो हो— सुख । एउटै विषय, वस्तु र सन्दर्भ पनि पात्रअनुसार सुख र दुःखको कारण बन्दोरहेछ । किन त्यसो हुन गयो ? यसको मूल कारण वस्तु वा विषय नभएर व्यक्तिको मनको अवस्था हो । कुनै पनि चीज आपैmँमा नराम्रा छैनन्, दुःखदायी छैनन्, केवल मनको सापेक्षमा ती सुखदायी अथवा दुःखदायी प्रतीत हुने मात्र हुन् । त्यसैले जे छ, मनमै छ । ‘मन चङ्गा त कटौरीमा गङ्गा’ त्यसै भनिएको होइनरहेछ ।First-articles-photo-9

तसर्थ, संसारमा आध्यात्मिक साधना, अनुष्ठान र जेजति विधिनियमहरु अभ्यासमा आएका छन्, ती सबैको एउटै उद्देश्य हो— ‘मनमाथिको सहज नियन्त्रण’ भन्ने माथिको कुरा यहाँ पुष्टि भयो, किनकि मनलाई सन्तुलित नतुल्याई हामीले कहिल्यै आनन्दको महसुस गर्न सक्दैनौँ, मस्ती र उत्सव मनाउन सक्दैनौँ । आनन्दको स्रोत हामीबाहिर छैन, हामीभित्रै छ, त्यो हो मन । पहिला मन खुसी हुने वातावरण तयार होस्, त्यसपछि अरु केही चाहिँदैन, भौतिक विषयवस्तु भए पनि हुन्छ, नभए पनि हुन्छ । यो हुनु र नुहुनुले केही फरक पार्दैन । वश्, मन हुनुप¥यो । जबसम्म मनलाई शान्त र शीतल तुल्याउन सकिँदैन तबसम्म शान्ति र शीतलताको अनुभूति हुन सक्दैन । तसर्थ योग, ध्यान, तप, स्वाध्याय, यज्ञ, अनुष्ठान र विविध साधनासहितका हाम्रा प्रयासहरु केवल मनको दौडधुपलाई शान्त तुल्याउने प्रयाससिवाय केही होइनन् ।

अनेक साधना, ध्यान, तपस्या र आध्यात्मिक अनुष्ठान जेजति गरिन्छन्, ती सबैको उद्देश्य एउटै हो— मनोनिग्रह । मनोनिग्रहको अर्थ मनमाथिको निग्रह अर्थात् नियन्त्रण । मनलाई आफूले भनेअनुकूल कसरी सञ्चालन गर्न सकिन्छ ? कसरी मनका उहापोहहरु शान्त, स्थिर र सन्तुलित हुन सक्छन् ? कसरी चित्तको दशालाई सुव्यवस्थित गर्न सकिन्छ ? हाम्रा सबैसबै तप, स्वाध्याय र प्रयत्नहरु यिनै प्रश्नका वरपर केन्द्रित रहने गर्दछन् ।

जति दौडधुप, उछलकुद गरे पनि त्यसको अर्थ शान्ति हो, आनन्द हो, मस्ती हो, सन्तोष र सुख हो । जपध्यान गर्नेले आँखा बन्द गरेर जे खोजिरहेको छ, युट्युबमा आँखा खोलेर भिडियो हेर्नेले पनि त्यही खोजिरहेको छ । एउटाले माछामासु, लसुनप्याज, मरमसाला, रक्सीचुरोट, गाँजाभाङ केही खाँदैन, कारण यी चीजले उसलाई पीडा हुन्छ, आनन्द आउँदैन । अर्कोले माथिका सबै खान्छ, केही बाँकी राख्दैन, कारण यी चीज नखाँदा उसलाई पीडा हुन्छ, आनन्द आउँदैन । कोही नदीनालाका किनार, पहाड र हिमालका उकाली—ओरालीहरुमा हिँड्न पाउँदा रमाउँछन्, कोही तिनै उकाली—ओराली हिँड्नुपर्दा दुःखी हुन्छन् । कोही मर्ने बेला भयो, करोडौँ सम्पत्ति बैङ्कमा छ, ‘म मरेपछि यो सम्पत्ति कसले कसरी खर्च गर्ला ? म त जाने भएँ, खर्च गर्न भ्याइनँ । अहो, अब कसरी यसको उपयोग होला ?’ भन्दै त्यही पैसाकै कारण छटपटिएर दुःखी हुँदै मर्छ, कोही ‘पैसा नभएर केही खर्च गर्न पाइनँ’ भन्दै दुःखी भएर बाँच्छ । आखिर यस्तो किन ?

अर्जुनलाई भगवान् श्रीकृष्णले दिनुभएको मूल शिक्षा नै यही हो । अर्जुन अत्यन्त उद्विग्न थिए, विशादग्रस्त थिए । किंकर्तव्यविमूढ भएर बसेका थिए, ठूलो अनिर्णयको वन्दी बनेका थिए, कारण उनको मन दुःखी थियो, विक्षिप्त थियो । गीताका अनेक अध्यायहरुमार्फत योगेश्वर कृष्णले अर्जुनलाई कसरी मनलाई सुदृढ र व्यवस्थित बनाउन सकिन्छ भनेर सम्झाउनुभयो, उपायहरु बताउनुभयो । अठार अध्यायमा उहाँका सारा प्रयास, परामर्श र पृष्ठपोषणहरु सङ्कलित हुन पुगे । उहाँको परामर्शको एउटै सार थियो— मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । मानिसको स्वतन्त्रता अथवा बन्धन, यी दुवैको कारण मन हो । व्यक्ति मनकै कारण बाँधिन्छ, दुःखी हुन्छ, चिन्तित हुन्छ र अवसादग्रस्त हुन्छ भने मनकै कारण मुक्त, स्वतन्त्र, निर्बाध, प्रसन्न, मस्त र उत्सवपूर्ण पनि हुन सक्छ ।

‘मनको ईश्वर चिन, बाहिर खोज्दै नहिँड’, यो हामी सबैले सुनेको लोकभजनको एउटा अंश हो । अत्यन्त सरल छ, तर गीतामा अर्जुनलाई कृष्णले दिनुभएको परामर्शको सार बोलेको छ, यसले । मन चञ्चल हुन्छ, बेचैन हुन्छ, दौडधुपमा रूचि राख्छ । यो मनको पहिचान हो । चञ्चल भएर मनले कुनै अपराध गरेको छैन, बरू पुण्यको प्रयास गरेको छ ।

हाम्रा साना–साना छोराछोरी कति चञ्चल हुन्छन्, मनजस्तै ! घरी यता, घरी उता गरेको ग¥यै ! कतिखेर सडकमा पुगेका हुन्छन् त कतिखेर रुखमा चढेर हाँगा हल्लाइरहेका हुन्छन् । घरमा भर्खरै किनेर ल्याएको रेडियो बटारेर, खोलेर उत्तिखेरै भताभुङ्ग ! कम्ती रिस उठ्दैन हामीलाई ! हैरान बनाउँछन्, भन्या ! तर, हामीसित अर्को कुनै विकल्प पनि त छैन । तिनका चञ्चलतालाई झेल्नुबाहेक केही गर्न सकिँदैन ।
छोराछोरीका चञ्चलतासित लड्न थाल्यौँ भने, झगडा गर्न थाल्यौँ भने वा कुटपिट गर्न थाल्यौँ भने के हुन्छ ? हिंसा, प्रतिहिंसा र अशान्ति ! मन पनि त्यस्तै हो, केटाकेटीजस्तै । केटाकेटीसित झगडा गर्दा बिग्रिएजस्तै मनसित पनि जोडतोड गर्दा बिग्रन्छ । आज जति बिग्रिएको छ, मनसित लड्दा नै बिग्रिएको छ, झगडा गर्दा नै बिग्रिएको छ ।

त्यसोभए मनलाई कसरी तह लगाउने त ? यही त योग हो । अत्यन्त गम्भीर भएर सोच्नुपर्ने कुरा के हो भने हामीले छोराछोरीको चञ्चलतालाई कमजोरी होइन, शक्ति ठान्नुपर्दछ । यदि हाम्रा छोराछोरी चञ्चल छन् भने, छुकछुके छन् भने, चकचके छन् भने उनीहरु केही खोज्दै छन्, केही चाहँदै छन्, केही बुझ्दै छन्, केही जान्ने इच्छा गर्दै छन् भन्ने सोच्नुपर्दछ । उनीहरु प्रचण्ड ऊर्जाले भरिएका छन्, उनीहरु आफ्नो ऊर्जा उपयोग गर्ने प्रयासमा छन् भन्ने सोच्नुपर्दछ ।

हाम्रो मनलाई छोराछोरीजस्तै ठान्नुपर्दछ । मनले नलडे कुनै पनि युद्ध लड्न सकिँदैन । यसको शक्तिका अगाडि कुनै पनि शक्तिले बराबरी गर्न सक्दैनन् । मनको शक्तिलाई प्रयोग गरेर नै जीवनको आनन्द पाउने हो, तर यो शक्ति गलत दिशामा बग्न भएन, नराम्रो ठाउँमा पोखिन भएन भन्ने मूल प्रश्न हो । मन चञ्चल छ, बलवान् छ, अर्जुनले भनेजस्तै निग्रह गर्न निकै गाह्रो छ, तर यसलाई व्यवस्थित गर्ने कुरा असम्भव भने छैन । सबै बाबुआमाको छोराछोरीसित झगडा नै हुन्छ भन्ने छ र ? बाबुआमाले भनेको कुनै पनि कुरा नकाट्ने अत्यन्त आज्ञाकारी र अनुशासित छोराछोरी पनि त छन् नि ! तर, ती अभिभावकले लडाइँ–झगडा गरेर, जोरजबर्जस्ती गरेर ती छोराछोरीलाई आज्ञाकारी बनाएका हुँदैनन्, प्रेमले सम्झाएर, उनीहरुलाई काम दिएर, व्यस्त बनाएर र तिनको ऊर्जालाई व्यर्थ खेर जान नदिएर आज्ञाकारी बनाएका हुन्छन् ।

योग भनेको पनि मनलाई दिइने काम हो । साधना, तपस्या वा हाम्रा अन्य विभिन्न आध्यात्मिक अनुष्ठानहरु सबै मनलाई व्यस्त राख्ने प्रयास हुन् । योगध्यान मनसितको जबर्जस्ती होइन, मनसित नजिक हुने विधि हो । उसका प्रत्येक उच्छ्वास, गति र प्रवृत्तिसित साक्षात्कार गर्ने तरिका हो ।

हामीले भन्ने गरेका समस्या बाहिर कतै छैनन्, भित्रै छन् । हामीले खोजेको समाधान पनि बाहिर भेटिँदैन, भित्रै भेटिन्छ । समस्या र समाधान सँगसँगै छन् । समाधानविना समस्या अपाङ्ग हुन्छ, समस्याविना समाधान अपाङ्ग हुन्छ । दुवै सँगै भएपछि मात्रै जीवन स्वस्थ र सम्पूर्ण हुन्छ ।

हामी सुखको खोजीमा, साधना र तपस्याको खोजीमा चारकोसे झाडीहरुमा, भीमकाय गुफाहरुमा, पहाडका कन्धराहरुमा, हिमालका चुचुराहरुमा वा निर्जन वनजङ्गलहरुमा भौँतारिनुको कुनै अर्थ छैन, चञ्चल मन लिएर । अवश्य पनि हिमाल, पहाड, तालतलैया, वनजङ्गलको हरियाली, छाँगाझरनाका छङछङहरुमा पुग्दा एउटा छुट्टै शान्ति र शीतलता महसुस हुन्छ, रमाइलो पनि लाग्छ, तर मनमा वासना छ, राग र आसक्ति छ भने कतै गएर पनि आनन्द हुँदैन ।

वनेऽपि दोषाः प्रभवन्ति रागिणां
गृहेऽपि पञ्चेन्द्रियनिग्रहस्तपः ।
अकुत्सिते कर्मणि यः प्रवर्तते
निर्वृत्तरागस्य गृहे तपोवनम् ।।

अर्थात् ‘रागीलाई वनमै गए पनि दोषहरु उत्पन्न हुन्छन् । घरमै बसेर पनि पाँचै इन्द्रियलाई संयममा राखिएको छ भने त्यो पनि तप नै हो । जो निर्दोष कर्महरुमा लागेको छ, त्यस्तो विरक्त पुरूषका लागि घर पनि तपोवनसरह हुन्छ’— शिल्हन मिश्रले आप्mनो शान्ति शतकमा लेखेका छन् ।

घर छोडेर तपस्या गर्न त हिँडियो, तर मन इन्द्रियहरुको दासताबाट मुक्त भएको छैन, सांसारिक विषयभोगको वासनाले गाँजिएको छ र सानातिना अभावहरुमा विचलित हुन्छ, त्यस्तो व्यक्तिले कहिल्यै पनि साधनामा आशातीत उपलब्धि हासिल गर्न सक्दैन । ‘निर्वृत्तराग’ हुन सक्नुपर्छ । सबै प्रकारका रागभोगबाट मुक्त व्यक्ति चाहे ऊ जहाँ होस्, ऊसलाई कसैले डगमगाउन सक्दैन । मनीषीहरुको यही मत छ ।
हामीले धेरै सन्तमहन्तका बारेमा सुनेका छौँ, जसका साधनाविधि पनि सुन्दर छन्, प्रवचनको त झन् कुरै नगरौँ । चेलाचपेटाको कुनै हिसाब छैन । जसका मार्गनिर्देशन ग्रहण गर्न, चरण स्पर्श गर्न मानिसहरु तँछाडमछाड गर्थे, त्यस्तो विशिष्ट भनिएका साधु, महन्त र आचार्यहरु पनि यौन, पैसा, प्रतिष्ठा र आहारविहारमा विचलित हुँदा सबैबाट तिरस्कृत हुन पुगेका छन् । उनीहरुले विवाह गरेका छैनन्, पैसा छुँदैनन्, छोराछोरी छैनन्, तर रागभोग संयमको सङ्कल्पमा दृढ हुन नसक्दा एकाएक समाप्त भएका छन् । यो रागभोगका कारण विचलित मनको खेल हो ।

जीवनको सबैभन्दा ठूलो दुःख भनेकै मनसित खेल्नु, जोरी खोज्नु हो । उत्तम त विवेकशक्तिको छत्रछायामा मनले काम गर्नु रहेछ । विवेक कहिल्यै कमजोर र दोषी हुँदैन । बोध सर्वदा पवित्र, सन्तुलित, तटस्थ र आनन्दपूर्ण हुन्छ । मन राम्रो नराम्रो भन्ने नै हुँदैन । यो त एउटा साधन हो, औजार हो, माध्यम हो । राम्ररी चपाउन नजान्दा जिब्रो टोकिन सक्छ, तर तिनै धारिला दाँतहरु छन् र व्यक्ति हाँस्दा अनुहार सुन्दर देखिन्छ ।

साधनलाई चलाउने साधकले हो । विवेक साधक हो, मन साधन । यसलाई प्रेमपूर्वक सत्कर्महरुमा लगाइरहने हो भने, निश्चित विषयमा अभ्यस्त तुल्याउने हो भने अन्ततः मनले पनि एउटा संस्कार बनाउँछ । जब त्यो सत्कर्म, सद्विचार र ध्यानधारणाको संस्कार प्रबल हुँदै जान्छ, व्यक्तिको जीवनमा त्यसपछि स्वतः चमत्कारहरु घटित हुन थाल्छन् । इन्द्रियहरुले मनलाई पटकपटक विचलित तुल्याउन खोज्छन् । इन्द्रियहरु पनि मनजस्तै छन् । मनलाई पनि एउटा इन्द्रिय मानिएको छ । यी सबैमाथि प्रेमपूर्ण शासन र निर्देशन गर्ने शक्ति नै बोधशक्ति हो, विवेकशक्ति हो । यसले नै मनलाई आवश्यक परामर्श, निर्देशन र गति प्रदान गर्ने काम गर्दछ ।

मन कहिल्यै त्यसै बस्न सक्दैन । उसलाई केही न केही चाहिन्छ, चाहिन्छ । तपाईंहामीले नदिए ऊ आपैmँले खोजेर ल्याउँछ । हामीलाई पनि कताकता लैजान्छ । कहिलेकाहीँ त यस्तायस्ता ठाउँमा, यस्तायस्ता विषयमा लिएर जान्छ कि हामी एकदम विचलित हुन्छौँ, आत्तिन्छौँ, चिन्तित हुन्छौँ । त्यसो नहोस् भन्नका लागि हामी आपैmँले मनलाई निश्चित विषको गुडिया दिनुपर्दछ । के दिने भन्ने कुरा साधकले आफूले आफ्नो स्वभाव र मनको प्रवृत्ति हेरेर तय गर्ने कुरा हो । कुनै मनलाई सास मन पर्ला, कुनै मनलाई सङ्गीत मन पर्ला । कुनैलाई चित्र मन पर्ला । कुनैलाई विचार मन पर्ला । धेरै छन्, ध्यानका विधि । तिनै विधिका माध्यमले मनलाई सन्तुलित तुल्याएर बल्ल हामी सुखी र सन्तुलित हुन्छौँ । त्यतिबेला वनमा होइन, घरमा वसेर पनि हामी साधु हुन सक्छौँ, योगी हुन सक्छौँ । मन यदि रागयुक्त र विचलित छ भने कुनै पनि वनले हामीलाई शान्ति दिन सक्दैनन्, कुनै गुफाकन्धरा र नदीकिनारमा जाँदा पनि हामी रमाउन सक्दैनौँ, किनकि आनन्द वनमा भन्दा पहिला मनमा आउनुपर्छ ।

हाम्रो मनलाई रागबाट वैराग्यतिर अभिमुख बनाउने काम सजिलो छैन, तर असम्भव पनि अवश्य छैन । यसका लागि धैर्य चाहिन्छ, आमाको जस्तो । चकचके छोराछोरीलाई शान्त बनाउने उपाय भनेको उसलाई कुनै चीज उपलब्ध गराउनु हो । खेलौना पाएपछि ती त्यही खेलौनासित मस्त हुन्छन्, न भोक, न सुर्ता । हामी पनि आनन्दित, हाम्रा पनि आनन्दित ! मनले पनि विषय चाहन्छ, खेलौना चाहन्छ । गाली गरेर, ‘चुप् लाग्’ भनेर हकार्दा न छोराछोरी मान्छन्, न मन मान्छ । वश्, दुवैलाई आधार चाहिन्छ, खेलौना चाहिन्छ । मनको खेलौना भनेको ध्यान हो । कुनै निश्चित चीज उसलाई उपलब्ध गराउनु हो ।

[email protected]