स्थानीय निकायको चुनाव सकिएको एक महिना पनि भएको छैन तर धेरै ठाउँमा नयाँ योजना, कार्यक्रम, कार्य शैली र आशालाग्दो कामको लक्षण देखिन थालेकाले  धेरैमा आशा पलाएको छ यसपल्ट भने हाम्रो गाउँठाउँमा पक्कै पनि राम्रै प्रगति हुन्छ भन्ने ।

हुन त अगिल्ला जनप्रतिनिधिहरुको कार्यकाल यदाकदा उल्लेख्य रहे पनि खासै उपलब्धिमुलक नरहेकाले त्यस्तै होला भनेर धेरैले आँकलन गरेका थिए तर परिस्थिति बदलिन थालेको छ तसर्थ  यो पल्ट धेरैलाई आफ्नो पद निक्कै मँहगो पर्न सक्छ, जनतामा आएको आक्रोस र जागरणले ।

यतिखेर केही सहरहरु निक्कै चर्चामा छन् ,जहाँ स्वतन्त्र ढंगले उम्मेदवारी दिएर जितेका छन् र फरक शैलीले कार्य अगाडि बढाएका छन् । हुनत यति छोटो समयमा धेरै कुरा गर्नु भनेको पटक्कै सुहाउने कुरा नै होइन तर कामको सुरुवात र लक्षणबाट भने केही कुरा भन्न वा लेख्न भने मन लागि नै हाल्छ । 

शुक्ला गण्डकी नगरपालिकाको सेवा प्रवाह कार्यशैली सबैका लागि अनुकरणीय छ । वास्तवमा कार्यालय समय भनेको र कार्यालयभित्रको काम त्यहाँका कर्मचारीले गर्नुपर्ने नै हो । आफू घुम्ने कुर्सीमा बसेर सेवाग्राहीलाई नै कोठाकोठामा कुदाउने यो प्रकृयालाई, अधिकांश काम एउटै थलोबाट पुरा गर्ने नभए कर्मचारी आफैँ काम फत्ते गरेर ल्याइदिने उक्त पालिकाको यो शैलीले धेरैको ध्यान खिचेको छ ।

अर्कातिर सहरमा सार्वजनिक शौचालयको अभाव, सर्वसाधारणले भोग्नु परेको पीडा,अगिल्ला जनप्रतिनिधिले काम गर्न नसकेको आदिको  चर्चा चलिरहदा काठमाडौँ र अन्य सहरहरुले आफ्नो होटल वा रेस्टुराँमा सर्वसाधारणको सुविधाको लागि नव जनप्रतिनिधिलाई “तपाईँ हाम्रो लागि हामी तपाइँको साथमा” भनेर संवोधन सहित स्पष्टसँग लेखेर नै त्यो सुविधा दिन थालको देख्दा र सुन्दा जनताले पनि स्वतस्फुर्त सहयोग गरे परिवर्तनले छलाङ मार्न धेरै कुर्नु पर्दैन जस्तो लाग्छ । युवा जनप्रतिनिधिहरु समस्याग्रस्त स्थानमा आफैँ पुगेर अवलोकन गर्ने र समस्यालाई निराकरण गर्ने शैली अर्को अनुकरणीय छ ।  गठबन्धन र व्यक्तिगत कार्य क्षमताका कारणले दलीय हिसाबले भन्दा मजवुत देखिएर जित हात पार्न सफल पालिकाका जनप्रतिनिधिहरुले विजयका लागि बनाएका सङ्कल्प वा घोषणा पत्र अनुरुप काम गर्न बजेट वितरण गर्ने समय पनि आइसकेको छ, यो उनीहरुका लागि सुनौलो अवसर हो । कुन ठाउँमा के र कुन कुराको समस्या छ ? पहिलो  आवश्यकता के हो भन्ने हेक्का राखेर बजेट बनाउन नसके आलोचनाका पुलिन्दा नआउने कुरै छैन । 

विशेषतः आफू बसेको स्थान र छिमेकी पालिकाको विकास कसरी अगाडि बढ्छ, काम गर्ने तौर तरिका कस्तो छ,जनप्रतिनिधिमा कत्तिको दभ्भ बढ्न सुरु गरेको छ, कत्तिको गुनासा सुनेका छन् आदि जस्ता कुरामा चासो हुनुपर्छ नै । यतिखेर इटहरी उपमहानगरपालिकाको छिमेकी उपमहानगरपालिका धरानको गतिविधिलाई पनि निक्कै चासोका साथ हेरिएको छ । दुवै पालिकाका मुख्य समस्या पानी नै हो । एकातिर पानीको अभाव र अर्कोतिर अत्याधिक पानीको डुबान । अर्को समस्याको कुरा गर्ने हो भने एकातिर अस्पतालमा वेथिति अर्कोतिर अस्पताल व्यवस्थापन हुन नसकेको । जहाँसम्म इटहरीको कुरा छ, हरेका समस्यालाई गुरु योजना, रणनीतिक र कार्य योजना तयार पारेर विकास आयोजना अगाडि बढाइने भनेर संकल्प पत्रमा उल्लेख गरेको कुरा पढेको ताजै छ । डुबानको समस्यालाई समाधान गर्न सेरा खोलामा दीर्घकालीन तटबन्धन गरी ओभर फ्लो हुने पानीलाई इटहरीको बस्ती भन्दा माथिल्लो क्षेत्रबाट डाइभर्ट गरी बुढीखोलामा हाल्ने कार्य प्रभावकारी ढंगमा सम्पादन भएमा पहिलो समस्याबाट राहत पाउने थिए इटहरी सहरको मुख्य व्यापारिक भाग र कही वडाहरुले । ससाना स्वास्थ्य समस्या हुँदा पनि विराटनगर वा धरान धाउनु पर्ने बाध्यताबाट मुक्त गराउन बन्दै गरेको इटहरी अस्पताललाई तीव्र गतिमा कार्य गराई दक्ष र आवश्यक चिकित्सकहरु र उपकरणको  नियमित व्यवस्था भयो भने मात्र खोजेको सरकारको औचित्य रहनेछ । सवारी पार्किङ् र शौचालय जल्दाबल्दा समस्या हुन् हुनत मल्टी  लेयर स्मार्ट पार्किङ र व्यावसायिक भवनको तल्लो तलामा व्यवस्थित शौचालय बनाउने भनेर संकल्प पत्रमा उल्लेख नै छ तर व्यवसायिक भवन नबनेसम्म वा त्यतिले मात्र नपुग्ने हुनाले शौचालयका लागि विशेष मुख्य चोकको आसपासमा व्यवस्थापन गर्नु आजको अर्को मुख्य आवश्यकता हो ।  यत्रो रंगशालामा राष्ट्र्यि स्तरका खेलकुद भित्र्याउन सके व्यापारले पनि राम्ररी नै फस्टाउन पाउने कुरामा शंका छैन । यसो भन्दै गर्दा शिक्षा, कृषि र खेलकुदका लागि राम्ररी बजेट विनियोजन गरी देखिने खालको परिवर्तन आयो भने हरियाली इटहरी साँच्चै नै हरियाली बन्नेछ । काममा बाधा र व्यवधान होइन, यसमा जनताले खवरदारी गर्न चुक्नुहुन्न ।