तेह्रथुम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य ह्यात्रुङ झरना पछिल्ला वर्षहरूमा पानी अभावको संकटमा परेको छ । वर्षायाममा गर्जिएर बग्ने झरना सुख्खा मौसममा तिरतिरे धारामा सीमित हुन थालेपछि स्थानीयवासी, पर्यटन व्यवसायी र सरोकारवालाहरू चिन्तित बनेका छन् । जलवायु परिवर्तन, सुक्दै गएका मुहान र वन क्षेत्रमा बढ्दो दबाबका कारण झरनाको बहाव घट्दै गएको स्थानीयको भनाइ छ ।
ह्यात्रुङ झरना पूर्वी नेपालको सबैभन्दा आकर्षक प्राकृतिक पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ । पहाडको काखबाट करिब ३६५ मिटर उचाइबाट झर्ने यो झरनालाई नेपालकै दोस्रो तथा एसियाकै चौथो अग्लो झरनाका रूपमा चिनिन्छ । फेदाप गाउँपालिका–४ को सम्दु र वडा नम्बर ५ को इसिबु गाउँको सिमानामा अवस्थित यो झरना समुद्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा रहेको छ ।
तर पछिल्ला वर्षहरूमा सुख्खा मौसममा झरनामा पानीको बहाव घट्दै जान थालेपछि यसको प्राकृतिक सौन्दर्यमाथि संकट देखिन थालेको छ । वर्षायाममा विशाल रूपमा बग्ने झरना अहिले सुख्खायाममा सानो धाराजस्तो देखिन थालेको स्थानीयवासी बताउँछन् । स्थानीय देवी रेग्मीका अनुसार पहिले वर्षभरि झरनामा पर्याप्त पानी बग्ने गर्थ्यो । अहिले भने सुख्खा मौसममा पानी निकै कम हुन थालेको छ । उनले पानीका स्रोत संरक्षणमा ध्यान नदिए भविष्यमा ह्यात्रुङको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिइन् ।
स्थानीयका अनुसार झरनामाथिका मुहान सुक्दै जानु, वर्षाको अनियमितता, जलवायु परिवर्तन तथा जंगल क्षेत्रमा बढ्दो मानवीय दबाबका कारण झरनाको बहाव घट्दै गएको हो । ह्यात्रुङ झरना केवल प्राकृतिक सम्पदा मात्र नभई पूर्वी नेपालको उदीयमान पर्यटन केन्द्रका रूपमा पनि विकास भइरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा हालसम्म करिब ८ करोड रुपैयाँ बराबरको पूर्वाधार निर्माण गरिएको छ ।
पर्यटकलाई सहज पहुँचका लागि सिँढी, रेलिङ, चौतारा तथा पदमार्ग निर्माण गरिएका छन् भने जोखिमयुक्त क्षेत्रमा सुरक्षाका उपाय अपनाइएको छ । झरनाको आकर्षण बढाउन करिब ३ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणको काम पनि भइरहेको छ ।
तर सरोकारवालाहरूले प्रश्न उठाउन थालेका छन्—यदि झरनामै पानी कम हुँदै गयो भने पूर्वाधारले मात्रै पर्यटन टिकाउन सक्छ त ?
पर्यटन विज्ञहरू दिगो पर्यटनका लागि प्राकृतिक स्रोत संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार केवल संरचना निर्माण गरेर मात्रै पर्यटन दीर्घकालीन बन्न सक्दैन । ह्यात्रुङ झरना सम्म पुग्नु आफैंमा रोमाञ्चक यात्रा मानिन्छ । मुख्य सडकबाट उकालो–ओरालो बाटो, जंगलबीचको पदमार्ग र सिँढी पार गर्दै अन्तिम चरणमा करिब १५ मिनेट तल झर्नुपर्छ । आठराई–१ का तुलसी सिटौलाका अनुसार झरनाको वास्तविक सौन्दर्य प्रत्यक्ष पुगेपछि मात्रै महसुस हुन्छ । प्रकृतिले सिर्जना गरेको अनुपम दृश्यले यात्राको सम्पूर्ण थकान हराउने उनी बताउँछन् ।
तर स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा सुख्खायाममा झरनाको स्वरूप फेरिँदै गएको छ । पानीको मात्रा घट्दा पर्यटकको अनुभवमा पनि असर पर्न सक्ने चिन्ता बढेको छ ।
पानी अभावको असर केवल पर्यटन क्षेत्रमा मात्र सीमित छैन । स्थानीयवासीका अनुसार खेतीपाती, पशुपालन तथा दैनिक उपभोगका लागि समेत पानीको समस्या बढ्न थालेको छ । पानीका मुहान कमजोर हुँदा गाउँको जीवनशैलीमै असर देखिन थालेको उनीहरू बताउँछन् । स्थानीय तहले झरनामाथिका मुहान संरक्षण, वृक्षारोपण, वन संरक्षण तथा पानी स्रोतको वैज्ञानिक व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने माग स्थानीयले गरेका छन् । फेदाप गाउँपालिका–४ का वडा अध्यक्ष भेषराज चोङबाङ का अनुसार ह्यात्रुङलाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।
उनका अनुसार पर्यटकलाई झरना हेरेर मात्र फर्किने होइन, लामो समय बस्ने वातावरण बनाउन होमस्टे, स्थानीय खानाका परिकार तथा सांस्कृतिक पर्यटनसँग जोड्ने तयारी भइरहेको छ । तर वर्षायाममा गर्जिने ह्यात्रुङ झरना सुख्खायाममा सुक्दै जान थालेपछि स्थानीयमा चिन्ता बढेको छ । प्रकृतिले दिएको यो अनुपम सम्पदा संरक्षण गर्ने कि क्रमशः हराउँदै गएको टुलुटुलु हेर्ने भन्ने प्रश्न अहिले स्थानीय समुदायमाझ उठ्न थालेको छ ।




















