इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ । 

जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।
इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ । इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ ।

यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी कोशी प्रदेशको महानगरउन्मुख सहर हो । यहाँ इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालान गर्न बजेट छुट्याएको उपप्रमुख चौधरीले उल्लेख गरिन् ।

वैशाख १५ गतेदेखि मात्र इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी स्तरोन्नति सेवा सुरु भएको थियो । अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ ।
  सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिदिनै बढ्दै छ । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ ।  धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ ।

शिक्षाको  भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धि लाई ध्यानमा राखी इटहरी क्षेत्रका केही  सामुदायिक विद्यालयहरुलाई  नमुना विद्यालयका रुपमा रुपान्तरण  गर्न बजेट  बिनियोजन गरिएको छ । विद्यार्थीहरुलाई अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ। इटहरीमा रात्रिकालिन बजार सञ्चालन गरिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरि स्ट्रीट लाईट जडान गर्न पनि बजेट छुट्याइएको छ । प्रत्येक वडामा एक वडा स्तरीय खेल मैदान निमार्ण गर्ने र  प्रत्येक वडामा खुल्ला व्यामशाला निर्माण गर्न बजेट बिनियोजन गरिएको छ ।
उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरि ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न बजेट छुट्याएको छ । 

सात वर्ष अघि अर्थात २०७३ साउन ११ गते इटहरी उपमहानगरपालिका भित्र झन्डै ९ सय ९५ विगाहा ६ कठ्ठा साढे एक धुर सार्वजनिक, ऐलानी, पर्ती रहेको प्रतिवेदन उपमहानगरलाई बुझाइयो ।

उपमहानगरले सार्वजनिक क्षेत्रहरुमा फ्री वाईफाई जडान गरि सञ्चालन बजेट छुट्याएको छ । नवप्रवर्तन,अनुसन्धान तथा आइडिया इभेन्ट कार्यक्रम गर्न बजेटमा समेटिएको छ । यस्तै, ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्न पनि बजेट छुट्याइएको छ। यसका लागि ६ वटा उपयुक्त स्थानमा चार्जिङ् स्टेशन निर्माण गरि सञ्चालन गरिने उल्लेख छ ।
आगामी वर्ष प्रत्येक सामुदायिक  विद्यालयमा सिसिटिभी जडान गरि विद्यालयका शैक्षिक गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्नका निम्ति उपमहानगरपालिकामा विशेष एक अवलोकन कक्ष निर्माण गर्न बजेट छुट्याएको छ । 

स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत इटहरीबासीहरुलाई सेवा पु¥याउने उद्देश्यले २ वटा एम्बुलेन्स खरिद गरि निःशुल्क सेवा सञ्चालन गरिने पनि बजेटमा समेटिएको छ ।
इटहरीका मुख्य चोक तथा बजार क्षेत्रमा फ्री वाईफाई जडान गरि सञ्चालान गरिनेछ । गरिब, विपन्न, ज्येष्ठ नागरिकहरुको इटहरी अस्पतालमा गरिने उपचारमा ५० प्रतिशत छुट दिने बजेटमा समेटिएको छ ।