इटहरी । बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत सहयोग जुटाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीले हालसम्म करिब ४७ लाख रुपैयाँ संकलन गरेको छ।

प्याब्सन केन्द्रीय कमिटीले देशभरबाट बाढी तथा विपद् प्रभावितका लागि १० करोड रुपैयाँ सहयोग संकलन गर्ने निर्णय गरेपछि सुनसरीमा पनि राहत संकलन अभियानलाई तीव्रता दिइएको हो।

प्याब्सन सुनसरीका अध्यक्ष नेशनल थानेश्वर ढकालका अनुसार जिल्लाबाट ५० लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ। अभियानअन्तर्गत जिल्लाका प्याब्सनसँग आबद्ध १९७ विद्यालयमध्ये हालसम्म १८० विद्यालयले सहयोग रकम हस्तान्तरण गरिसकेका छन्।

WhatsApp Image 2026-09-10 at 10.52.13 PM

जिल्लाका विभिन्न क्षेत्रबाट संकलन गरिएको रकम प्याब्सनको केन्द्रीय कमिटीमार्फत बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा पठाइने जनाइएको छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी रकम इटहरी क्षेत्रबाट १६ लाख रुपैयाँ संकलन भएको छ। यस्तै, धरानबाट १० लाख, रामधुनीबाट ८ लाख, इनरुवाबाट ५ लाख ५० हजार, बराहक्षेत्रबाट ४ लाख र गढी क्षेत्रबाट १ लाख रुपैयाँ संकलन भएको प्याब्सन सुनसरीले जनाएको छ।

प्याब्सन सुनसरीले बाँकी विद्यालय तथा सम्बन्धित पक्षलाई समेत अभियानमा सहभागी गराउँदै निर्धारित लक्ष्य पूरा गर्ने तयारी गरेको जनाएको छ। राहत संकलनमार्फत विपद्बाट प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्य रहेको प्याब्सनले जनाएको छ।