काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा सुरक्षा चिन्ता बढेको छ।
कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार इराक सीमाक्षेत्र नजिक चिनियाँ कम्पनीद्वारा सञ्चालित परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा मोरङको रतुवामाई नगरपालिका–९ निवासी ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो। आक्रमणबाट ठूलो भौतिक क्षति समेत पुगेको मन्त्रालयले जनाएको छ।
तामाङ कुवेतमा ड्राइभरका रूपमा कार्यरत थिए। इरानबाट प्रहार गरिएको ड्रोन उनी सवार सवारीसाधनमा खसेपछि घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।
घटना कुवेत सिटीबाट करिब ९० किलोमिटर उत्तरतर्फ, इराक सीमाक्षेत्र नजिक रहेको औद्योगिक परियोजनामा भएको कुवेती रक्षा मन्त्रालयले जनाएको छ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी तामाङको शव शनिबार नेपाल पठाइसकिएको छ। दूतावासले पीडित परिवारसँग समन्वय गर्दै आवश्यक सहयोग गरिरहेको जनाएको छ।
घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा जोखिम बढेको भन्दै कुवेत सरकारले देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी रातिको समयमा अस्पताल, होटल तथा अन्य सार्वजनिक स्थलमा अत्यावश्यकबाहेक बाहिरी बत्ती नबाल्न तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ग्यास तथा कच्चा तेल उत्पादन केन्द्रसँग सम्बन्धित केही क्षेत्रमा कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ। अन्य क्षेत्रका कामदार भने सतर्कताका साथ नियमित काममा खटिरहेका छन्।
कुवेतस्थित चिनियाँ दूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, निर्दोष नागरिक र गैरसैन्य संरचनामाथि हुने आक्रमणको चीनले सधैं विरोध गर्दै आएको जनाएको छ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० कुवेतका अध्यक्ष दिलकुमार पाख्रिनले घटनापछि कुवेतमा रहेका नेपालीहरूबीच सुरक्षा चिन्ता बढेको बताए। उनले नेपाली समुदायलाई दूतावास र स्थानीय प्रशासनबाट जारी सुरक्षा परामर्शको पालना गर्न आग्रह गरेका छन्।
हाल कुवेतमा करिब १ लाख ८६ हजार नेपाली कार्यरत रहेको अनुमान छ। तीमध्ये करिब १ लाख १५ हजार औद्योगिक तथा कर्पोरेट क्षेत्रमा तथा करिब ७० हजार घरेलु कामदारका रूपमा कार्यरत छन् ।
नेपाली दूतावासले नियमित रूपमा सुरक्षा परामर्श जारी गर्दै सबै नेपाली नागरिकलाई शान्त रहन, उच्च जोखिमयुक्त क्षेत्रबाट टाढा बस्न र स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिका पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।




















