सुनसरी । सुनसरी जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सामग्री तथा मतपत्र बुझ्ने सम्बन्धी सूचना जारी गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीद्वारा जारी सूचनामा आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि खटिएका सम्पूर्ण मतदान अधिकृतलाई तोकिएको मिति र समयमा निर्वाचन सामग्री बुझ्न उपस्थित हुन निर्देशन दिइएको छ।
सूचनाअनुसार निर्वाचन सामग्री बुझ्ने स्थान जिल्ला निर्वाचन कार्यालय, इनरुवा, सुनसरी तोकिएको छ। सोही दिन बिहान १०:०० बजेदेखि सामग्री वितरण गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, निर्वाचन सामग्री बुझिसकेपछि मतपत्र बुझ्ने स्थान मुख्य निर्वाचन अधिकृतको कार्यालय, शिल्पा तालिम केन्द्र, इनरुवा, सुनसरीमा तोकिएको छ। मतपत्र वितरणको समय बिहान १०:३० बजेदेखि दिउँसो ५:०० बजेसम्म रहने जनाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटिएका मतदान अधिकृतहरूलाई अनिवार्य रूपमा नियुक्तिपत्र साथमा ल्याई समयमै उपस्थित हुन आग्रह गरेको छ।
सहायक निर्वाचन अधिकृत टिकेन्द्रवीर जंग राणाद्वारा हस्ताक्षरित उक्त सूचनामा निर्वाचन प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न सम्पूर्ण सरोकारवालालाई सहयोग गर्न अनुरोध गरिएको छ।
निर्वाचन आयोगले “स्वच्छ र निष्पक्ष निर्वाचन : राष्ट्रको गौरव” भन्ने नारासहित निर्वाचनलाई मर्यादित र विश्वासयोग्य बनाउन तयारीलाई तीव्रता दिएको जनाएको छ।




















