सुनसरी । चुनावी सरगर्मी दिनप्रतिदिन चुलिँदै जाँदा सुनसरी क्षेत्र नम्बर ३ मा देखिएको एउटा दृश्यले राजनीतिक वृत्तमै नयाँ सन्देश दिएको छ। प्रतिस्पर्धी दलका दुई उम्मेदवारबीच देखिएको आत्मीयता, सम्मान र शुभकामना आदान–प्रदानले स्थानीय मतदातामाझ सकारात्मक चर्चा पाएको हो।
राप्रपाका उम्मेदवार घनश्याम गुरुङ र नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले एक–अर्कासँग भेटघाट गर्दै मत माग्नुका साथै शुभकामना साटासाट गरेको दृश्य सामाजिक सञ्जालमा समेत चर्चित बनेको छ।
चुनावी मैदानमा फरक विचार, फरक घोषणापत्र र फरक राजनीतिक ध्रुवीकरण भए पनि दुवै उम्मेदवारले सार्वजनिक स्थानमा एक–अर्काप्रति सम्मान प्रकट गर्दै स्वस्थ प्रतिस्पर्धाको प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले लोकतन्त्रमा विचारको प्रतिस्पर्धा स्वाभाविक भएको तर व्यक्तिगत सम्बन्धमा कटुता आवश्यक नभएको धारणा राखेका थिए। स्थानीय नागरिकहरूका अनुसार पछिल्ला वर्षहरूमा चुनावी अभियानमा आरोप–प्रत्यारोप, कटाक्ष र विभाजनकारी भाषण बढ्दो देखिएको अवस्थामा यस्तो व्यवहारले फरक सन्देश दिएको छ।
दुवै उम्मेदवारले मतदातासँग आफ्नो एजेन्डा प्रस्तुत गर्दै विकास, सुशासन र जनसेवाको प्रतिबद्धता दोहोर्याएका छन्। फरक राजनीतिक दर्शन भए पनि लक्ष्य जनताको हित नै भएको उनीहरूको भनाइ छ।
यस घटनाले राजनीतिक संस्कार, सहिष्णुता र परिपक्वताको चर्चा फेरि एकपटक सतहमा ल्याएको छ। चुनावी मैदानमा शालीनता र मर्यादा कायम राख्ने परिपाटीले दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। स्थानीयहरू भन्छन्,सुनसरी–३ मा देखिएको यो दृश्यले प्रतिस्पर्धाबीच पनि सहकार्यको सम्भावना जीवित रहन्छ भन्ने सन्देश दिएको छ।
सुनसरी क्षेत्र नम्बर ३ मा देखिएको यो आत्मीय दृश्यले देखाएको सन्देश दियको छ की चुनावी परिणाम जे आए पनि यस्तो संस्कारले नै राजनीति प्रति जनविश्वास मजबुत बनाउने अपेक्षा गरिएको छ।




















