कालो कोट लगाएका वकिल गम्भीर मुद्रामा न्यायाधीशको इजलासतर्फ फर्किएर बोल्न थालेपछि अदालतको वातावरण एकाएक तर्क, कानुनी व्याख्या र प्रमाणको गम्भीर मञ्चमा परिणत हुन्छ। ‘श्री गोग्रहा जिल्ला अदालत, पोखरीया’ नामक काल्पनिक न्यायालयमा भइरहेको मुद्दाको सुनुवाइ यति जीवन्त थियो कि जुनसुकै व्यक्ति अदालतको ढोका छिर्दा नै यो कुनै वास्तविक आपराधिक मुद्दाको सुनुवाइ हो भन्ने ठान्थ्यो। तर यो सन्दर्भ कुनै ठोस अदालतको घटनाक्रम नभई ब्राइट भिजन ल कलेज (BVLC) मा पहिलोपटक आयोजना गरिएको ‘भिएलसी मूट कोर्ट प्रतियोगिता’ को रोमाञ्चक, शैक्षिक र भावनात्मक उपस्थिति थियो।

नवजात शिशु हत्या मुद्दा : बहसको केन्द्रमा न्याय र संवेदना

प्रतियोगिताको केन्द्रमा रहेको मुद्दा थियो — नवजात शिशुको रहस्यमय मृत्यु। एकातर्फ प्रतिवादी पक्षका वकिलहरूले मृत्यु प्राकृतिक भएको दाबी गर्दै बच्चा बिनाकुनै आपराधिक उद्देश्य मरेको तर्क गरे। उनीहरूको भनाइ अनुसार बच्चा अचानक अचेत भइ मृत्यु भएको हो र परिवारको नियत खराब थिएन।

तर वादी पक्षले त्यसको ठिक उल्टो दावी गर्दै, नवजात शिशु जानाजान हत्या गरिएको विवरण प्रस्तुत गरे। उनीहरूले घटनास्थलको मुचुल्का, बच्चाको अवस्था, र सामाजिक सन्दर्भलाई आधार बनाई, बच्चा अवैध सम्बन्धबाट जन्मिएको हुनसक्ने दावी गरे। पारिवारिक बदनामीको डरले परिवार आफैँले बच्चालाई अम्रिसोको घारीमा फालेर पातले छोपेको प्रमाण पनि प्रस्तुत गरियो।

वादी वकिलले अपराध संहिता २०७४ को दफा १७७ अनुसार "नवजात शिशु हत्या कसुर" अन्तर्गत दोषीलाई हदैसम्मको सजायको माग राखेपछि अदालतको वातावरण केहीबेरको लागि पूर्णतया शान्त बन्यो। उपस्थित दर्शक, सहभागी र न्यायाधीश सबैले गम्भीरताका साथ तर्क सुने। प्रस्तुतिका भाषा, शैली र कानुनी वजन यति सशक्त थियो कि त्यो क्षणलाई अविस्मरणीय बनायो।WhatsApp Image 2025-07-30 at 2.14.17 PM (1)

शिक्षण संस्थामै अदालतको अभ्यास : व्यवहारिक शिक्षाको उदाहरण

‘भिएलसी मूट कोर्ट प्रतियोगिता’ ले विद्यार्थीलाई कानुनी अध्ययनमा केवल किताबी ज्ञान सीमित नराखी व्यवहारिक कानुनी प्रक्रियासँग परिचित गरायो। प्रतियोगिता विद्यार्थीहरूमा तर्कशक्ति, कानुनी अनुसन्धन, फौजदारी कानुनको प्रयोग, न्यायप्रतिको संवेदनशीलता, र सार्वजनिक प्रस्तुति क्षमता बढाउने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रमको एक विशेषता भनेको संयुक्त बेन्च — अर्थात् तीन न्यायाधीशहरूको उपस्थितिमा मुद्दाको सुनुवाइ हुनु थियो, जसले निर्णय प्रक्रियालाई अझ गहिरो बनायो। न्यायाधीशले वकिलहरुलाई मुद्दाका अस्पष्ट पक्षमा प्रश्न गर्दै विद्यार्थीहरुलाई आलोचनात्मक सोच र प्रतिकृयाको अभ्यास गराए।

प्रतिभाको सम्मान : पुरस्कार र प्रोत्साहन

6b9c931f-ccb8-48e7-ac2e-3052e9c60b2c

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूह र व्यक्तिहरूलाई नगद पुरस्कारद्वारा सम्मान गरियो। लोकेश धाडेवा, आकृति खनाल र मनिस सिग्देलको समूहले उत्कृष्ट प्रस्तुतिका लागि पहिलो स्थान प्राप्त गर्दै “मेमोरियल पुरस्कार” जित्न सफल भयो। उनीहरूको प्रस्तुति भावनात्मक, कानुनी र सशक्त भाषिक संयोजनले भरिएको थियो।

दोस्रो स्थान अर्थात् ‘फस्र्ट रनर अप’ को उपाधि रञ्जना घिमिरे, कृतिका ढकाल, अनुसा आचार्य र अमृता कटवालको समूहले प्राप्त गर्‍यो। तेस्रो स्थान भने अविसा निरौला, प्रश्रित ढकाल, आयुषा राई तथा प्रविण सापकोटाको समूहले प्राप्त गरे।

त्यस्तै ‘बेस्ट स्पिकर’ का रूपमा अविसा निरौला घोषित भइन् जसले आफ्ना तर्कलाई आत्मविश्वासका साथ प्रस्तुत गरिन्। सबै विजयी टोलीहरूले क्रमशः रु १० हजार, रु ५ हजार र रु २५ सय नगद पुरस्कार प्राप्त गरे।

वरिष्ठ अधिवक्ताको टिप्पणी : "न्यायप्रणालीमा नयाँ पुस्ताको आगमन उत्साहजनक छ"

d04c425a-f6aa-47b3-b28a-82f539c01ea5कार्यक्रममा न्यायाधीशको भूमिकामा रहेका वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले विद्यार्थीहरूको प्रस्तुतिबाट अत्यन्त प्रभावित हुँदै कानुनी शिक्षामा यस्तो प्रकारको अभ्यास अपरिहार्य रहेको बताए। उनले भने, “आजका यी विद्यार्थीहरू भोलिका न्यायाधीश, कानुनविद् र समाजका संरक्षक हुन्। मूट कोर्टको अभ्यासले उनीहरूलाई सैद्धान्तिक अध्ययन मात्र नभई व्यवहारिक सीपसमेत प्रदान गर्दछ।” उनले विश्वास व्यक्त गरे कि अबको पुस्ताले कानुनलाई रुचिको विषय मात्र होइन, सामाजिक न्यायको आधारशिला मान्दै काम गर्नेछ।

निष्कर्ष : मूट कोर्ट प्रतियोगिताबाट न्यायप्रतिको चेतना र व्यावसायिक आत्मविश्वासको विकास

BVLC मूट कोर्ट प्रतियोगिता’ ले कानुनी शिक्षाको क्षेत्रमा नयाँ ढोका खोलेको छ। विद्यार्थीहरूले देखाएको उत्साह, प्रतिबद्धता र गहिरो तयारीले कानुनी अध्ययनको भावी भविष्य उज्ज्वल रहेको संकेत दिएको छ।