मेनुका डुम्जन , पांच दसक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्र कोरोना भाइरस महामारिका कारण सवै भन्दा बढी प्रभावित हुने क्षेत्रमा परेको छ । कोरोना भाइरस महामारीको असर सम्पुर्ण क्षेत्रमा परेको भए पनि यसको प्रत्यक्ष असर नेपाली चलचित्र क्षेत्रमा स्पष्ट देख्न सकिन्छ। कोरोना महामारीका कारण सबैभन्दा लामो समयसम्म ठप्प रहेको क्षेत्र हो नेपाली चलचित्र क्षेत्र । नेपालमा पहिलो लहरको कोरोना कहर नियन्त्रण तथा रोगथाम गर्न २०७६ चैत्र ११ गतेबाट देशव्यपी रूपमा लकडाउन जारी गरिएको थियो तर सिनेमा हलहरू भने २०७६ चैत्र ५ गतेबाट नै बन्द भएका थिए। चलचित्र क्षेत्रको लगानी उठाउने एक मात्र माध्यम सिनेमा हलहरू बन्द भए पछि सफलतापुर्वक प्रदर्शन भैरहेका चलचित्रहरूको प्रदर्शन रोकियो । प्रदर्शन गर्न तयार रहेका चलचित्रहरू प्रदर्शन हुन पाएनन् । यसले गर्दा नेपाली चलचित्र उधोगले करोडौको नोक्सानी व्यहोर्नु परेको छ। पहिलो चरणको लकडाउन खोकुलो हुंदै गएपछि केहि चलचित्रहरूले प्रदर्शन मिति सार्वजनिक पनि भयो तर दर्शकहरुले हलसम्म गएर फिल्म हेर्ने चासो देखाएनन ।


२०७७ माघ १ गतेबाट एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गरियो । प्रदर्शन गरिएको सो फिल्मले दर्शकलाइ हलसम्म तान्न सकेन। प्रदर्शन मिति तोकिएका अन्य फिल्महरू कोरोनाको दोस्रो लहरको कहरका कारण प्रदर्शनमा अएनन । नेपाली क्षेत्रमा प्रत्यक्ष- अप्रत्यक्ष रूपमा सरोकार राख्ने सवै क्षेत्रमा कोरोना भाइरस महामारीको नकारात्मक असर परेको छ । शिक्षा क्षेत्रमा प्रभाव परेको भए पनि भर्चुअल विधीवाट पढाइ संचालन भएकोले स्कुलहरुको आम्दानीमा खासै प्रभाव परेको देखिन्न । सार्वजनिक विद्यालयका शिक्षकहरुको पारिश्रमिकमा कुनै अन्तर देखिदैन । तर चलचित्र क्षेत्रमा काम गर्ने मजदुर र प्राविधिकहरु पुर्ण रुपमा वेरोजगार देखिएका छन् ।


कोरोना भाइरस महामारीको असर नेपाली चलचित्र क्षेत्रमा पर्नु अघिको कुरा गर्ने हो भने,नेपालमा पहिलो चरणको लकडाउन अगाडी २०७६ सालमा ५६ वटा चलचित्रहरू प्रदर्शन भएको थियो । २०७५ सालमा सय वटा जति चलचित्रहरू प्रदर्शन भएका थिए । नेपालमा चलचित्रहरू ८० लाख देखि २ करोड ५० लाख रुपैयाँसम्मको लगानीमा निर्माण हुने गर्छ। यसरी लाखौ रुपैयाको खर्च अनी चलचित्र कर्मीको मेहनत र समय खर्च गरेर बनाइएको चलचित्रहरु मध्ये एक दर्जन जति मात्र सफल हुने गरेको छ भने अधा दर्जनले मात्र नाफा कमाउन सकेको देखिन्छ। त्यस्तै धेरै संख्यामा दर्शक, विशेष गरी नयाँ पुस्ताको दर्सकहरुको मन जित्न कमैले मात्र सकेको पाइन्छ ।


नेपाली चलचित्रको इतिहास हेर्ने हो भने अधा शताब्दी भै सकेको छ । समय अनुकुल यस्को बजार बढाउन र अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन नेपाली चलचित्र अझै असफल छ । भने जस्तो गरि नेपाली चलचित्रको बजार विकास हुन नसकेतापनि चलचित्र क्षेत्रमा आश्रितहरुलाइ जिविकोपार्जन गर्न भने समस्या थिएन । तर कोरोना भाइरस महामारीको असर पछि भने उनीहरु समस्यामा छन् ।  विशेष गरी यस क्षेत्रमा काम गर्ने मज्दुर र प्राविधिकहरुमा ठूलो असर पर्‍यो । एकातिर श्रमको कम मुल्य छ भने अर्को तिर त्यही श्रमको ज्याला पनि गुमेको महिनौ भइसकेको छ । वर्षैंदेखि निर्भर हुदै आएको आयश्रोत नै ठप्प भएपछि गरिवी तर्फ धकेलिएको र दैनिक गुजारा टार्न पनि मुस्किल परेको चलचित्र क्षेत्रमा काम गर्ने मजदुर र प्राविधिकहरूले बताए । त्यस्तै कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्रमा परेको क्षतिबाट उत्रिएर नेपाली चलचित्रले गति लिन अझै २-३ वर्ष लाग्ने अनुमान गरिएको छ ।


चलचित्र क्षेत्र ठप्प भएपछि धेरै जसो कलाकर्मीहरू सिमित संख्याको टोलीले, सिमित लागत र समयमा बनाउन सकिने नेपाली म्युजिक भिडियो, सर्ट मुभिज लगायत अन्य अन्लाइन कार्य तर्फ अकर्षित बनेका छन् । जसले गर्दा कोराना कहरको बेलामा पनि राम्रैसंग फस्टाउन सफल क्षेत्र, नेपाली म्युजिम भिडियो क्षेत्र हो। त्यस कारण पनि कलाकर्मीहरू यस क्षेत्र तर्फ अकर्षित हुँदै गएका हुन् ।    


बिस्तारै निर्मलिकरण तर्फ देश अघि बढ्दै जांदा अन्य क्षेत्रमा सानो ठूलो स्तरमा काम हुन थाले पनि चलचित्र उधोग चलमलाउनै सकेन । ठूला पर्दाका चलचित्र लाखौ रुपैयाँको लगानी लगाएर निर्माण हुन्छन् । उनीहरुले आफ्नो लगानी उठाउने माध्यम सिनेमा हल भएको तर प्रदर्शन हुँदा पनि दर्शक हलसम्म जाने वातावरण नहुँदा  लगानी मात्रै भए पनि उठाउने सम्भावना निकै कम छ । अर्को तिर विगतमा समय सान्दर्भिक बिषयसँग जोडेर सिर्जना गरिएको बिचार र विधामा आधारित चलचित्रहरु अव असान्दर्भिक समेत भइसकेका छन् ।

एकातिर कतिपय चलचित्रका बिषयवस्तु असन्दर्भिक हुँदै जानु अर्को तिर कोरोना महामारी कम होला र फेरी हलमा फिल्म लगाउला भन्ने वातावरण पनि नबन्दा नेपाली चलचित्र क्षेत्र अन्योलमै रहेको हो । नेपाली चलचित्र प्रदर्शन गर्ने अन्य वैकल्पिक उपाय नै नभएको भने हैन। बलिवुड तथा अन्य अन्तराष्ट्रिय चलचित्रहरुले नेटफ्लिक्स, अमेजोन प्राइम, हट स्टार जस्ता OTT( over the top) प्ल्याटफर्महरुको उपयोग गरेको पाइन्छ। यस्तै नेपालकै iflix,fopi जस्ता OTT प्ल्याटफर्महरू पनि उपलब्ध छन् । तर नेपाली चलचित्रले अन्तराष्ट्रिय स्तरमा अफ्नो पहिचान बनाउन असफल रहेकाले नेटफ्लिक्स जस्ता अन्तराष्ट्रिय प्ल्याटफर्मले नेपाली चलचित्र किन्ने वातावरण तत्काललाइ नभएको र नेपाली OTT प्ल्याटफर्म मात्रबाट चलचित्रको लगानी समेत नउठ्ने चलचित्र कर्मीहरुको भनाइ छ ।

अर्को तिर कोरोना महामारीका बेला नेपाली दर्शकहरूले पुराना तथा नयाँ नेपाली लगायत अन्तराष्ट्रिय चलचित्रहरु इन्टर्नेटको माध्यमबाट हेर्ने र ती बिच रहेको स्तरको फरक पनि राम्रोसंग नियाल्ने अवसर पाए । यसले नेपाली सिनेमा प्रति दर्शकहरुको अपेक्षा बढेको पाइन्छ।

एक सिक्काको दुइ पाटो हुन्छ भनेझै नेपाली चलचित्र क्षेत्रमा कोरोना भाइरस महामारीका कारण नकारात्मक मात्र नभइ सकारात्मक असर पनि परेको छ। सबै भन्दा पहिलो समयानुकुल चल्न नसकेको चलचित्र क्षेत्रलाइ समय र प्रविधिसँगै परिवर्तन हुन आवश्यक छ भन्ने पाठ सिकाएको छ। हाल अन्तराष्ट्रिय चलचित्र क्षेत्रले राम्रै व्यापार गरीरहेको बेला नेपाली चलचित्रको बजारनै ठप्प हुनुको कारण परिवर्तनशिल हुन नसक्नु हो भन्ने बारेमा नेपाली चलचित्र उद्योगले राम्रोसँग बुझेको छ ।

यस अघि रहर पुरा गर्नका लागि, आफ्नो मान्छेलाइ कलाकार बनाउनको लागि, विदेशी फिल्मका कथालाइ कपि पेस्ट गरि चलचित्र बनाउने क्रम तिव्र थियो । जसका कारण नेपाली चलचित्रमा स्तर आउन सकेको थिएन । कोरोना कहरले चलचित्र बजारको समयानकुल विकासको महत्व सम्पुर्ण चलचित्रकर्मीहरुलाइ सिकाएको छ । यसको लागि चलचित्रमा रहरे प्रवृति हट्न अवस्यक छ।

कलाकर्मीहरूले पनि लकडाउनवीच खालि भएको समयमा आफ्नो कलालाइ अझ निखार्ने अवसर पाए । दर्शकहरुले कोरोना महामारीको समयमा घरमै बसी इन्टर्नेटबाट विभिन्न उपकरण प्रयोग गरी राष्ट्रिय- अन्तराष्ट्रिय चलचित्रहरु हेर्न सिके । दर्शकहरुमा नेपाली चलचित्रबारे बढेको ज्ञानसंगै त्यस प्रतिको अपेक्षा पनि बढेको छ । यसले गर्दा नेपाली दर्शकको माग अनुसार चलचित्र स्तरिय बन्दै जाने अनुमान समेत गरिएको छ ।।