झापा । हरिया सालका घना वनबीच निलो आकाशको प्रतिबिम्ब बोकेको शान्त पोखरी, पानीमाथि गुडिरहेका डुङ्गा, झोलुङ्गे पुलमा तस्वीर खिचिरहेका युवायुवती र वनभोजका लागि आएका परिवारहरूको चहलपहलले जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रलाई आज पूर्वी नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य बनाएको छ। तर प्राकृतिक सम्पदा, सामुदायिक सक्रियता र बढ्दो पर्यटक चाप हुँदाहुँदै पनि सरकारी लगानी र दीर्घकालीन योजनाको अभावले यसको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
पूर्व–पश्चिम राजमार्ग ९एशियन हाइवे० अन्तर्गत जामुनखाडी चोकबाट करिब एक किलोमिटर उत्तरमा, झापाको कनकाई नगरपालिका–१ र २ मा फैलिएको यो क्षेत्र कुनै समय दलदल, झाडी र अवैध काठ तस्करीको जोखिममा थियो। आज भने यही स्थान हजारौं आन्तरिक तथा भारतीय सीमावर्ती पर्यटकको रोजाइको गन्तव्य बनेको छ।

वि।सं। २०५२ मा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह गठन भएसँगै संरक्षण अभियान सुरु भयो। त्यसपछि २०६५ सालमा सिमसारलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने निर्णय भएपछि स्थानीयवासी श्रमदानमा जुटे। पोखरी विस्तार, झाडी सफाइ र पूर्वाधार निर्माणको सामूहिक प्रयासले अहिलेको आकर्षक जामुनखाडीको स्वरूप दिएको हो।

४४३ हेक्टर क्षेत्रफलमा फैलिएको वनमध्ये करिब २७ हेक्टर क्षेत्रलाई सिमसार र वन्यजन्तु संरक्षण क्षेत्रमा विकास गरिएको छ। पाँच हेक्टरमा फैलिएको जमुना पोखरी अहिले यस क्षेत्रको प्रमुख आकर्षण बनेको छ। सुरुमा पेडल बोट सञ्चालन गरिए पनि पर्यटकको सहजताका लागि अहिले मोटरबोट सञ्चालनमा ल्याइएको छ।

वन उपभोक्ता समूहका सचिव दीपककुमार ओलीका अनुसार मोटरबोट सञ्चालनपछि धेरै पर्यटकलाई छोटो समयमै सेवा दिन सहज भएको छ। नयाँ वर्ष, सार्वजनिक बिदा तथा वनभोजको मौसममा एकै दिन पाँच हजारभन्दा बढी पर्यटक आउने गरेका छन्। भारतका पश्चिम बंगाल, बिहार, सिक्किम, आसाम तथा भूटानबाट समेत पर्यटकको आगमन बढिरहेको छ।

जामुनखाडी मनोरञ्जनको केन्द्र मात्र होइन, जैविक विविधताको अध्ययन तथा अनुसन्धान गर्ने शैक्षिक केन्द्रका रूपमा पनि विस्तार हुँदै गएको छ। स्वदेशी तथा विदेशी विश्वविद्यालयका विद्यार्थीहरू यहाँ नियमित अध्ययन र अनुसन्धानका लागि आउने गरेका छन्।

यस क्षेत्रको अर्को मुख्य आकर्षण वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र हो। नेपालमा सामुदायिक वनभित्र वन्यजन्तु संरक्षणको अभ्यास प्रारम्भ गर्ने नमुनामध्ये एक मानिने यहाँ चितुवा, हिमाली कालो भालु, गोही, अजिङ्गर, सालक, मयूर, गिद्ध, चित्तल, मृग, बाँदर, इमो, अस्ट्रिच, खरायो र टर्कीलगायत २३ प्रजातिका वन्यजन्तु तथा पक्षी संरक्षणमा छन्। तीन जना हेरालुले दैनिक स्याहार–सुसार गर्दै आएका छन्। तर पुराना र साँघुरा खोरका कारण संरक्षण व्यवस्थापनलाई थप स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखिएको छ।

वन समूहका अध्यक्ष पर्शुराम गिरीका अनुसार वन्यजन्तुको आहारा, उपचार र व्यवस्थापनमा मात्रै वार्षिक १५ देखि २० लाख रुपैयाँ खर्च हुने गरेको छ। एक समय वार्षिक दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने जामुनखाडीको कारोबार अहिले ८० देखि ९० लाख रुपैयाँमा सीमित भएको छ। यही आम्दानीबाट कर्मचारी पारिश्रमिक, वन्यजन्तु संरक्षण र पूर्वाधार व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

जामुनखाडीले स्थानीय अर्थतन्त्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएको छ। सिटी सफारी, टेम्पो, म्याजिक गाडी, वनभोज व्यवसाय, माछापालन तथा साना व्यापारमार्फत सयौं परिवारको रोजगारी यस क्षेत्रसँग जोडिएको छ। करिब ९०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने वनको आम्दानीबाट विद्यालय, सडक, खानेपानी, सौर्य ऊर्जा र गोबर ग्यासजस्ता सामुदायिक कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ।

यद्यपि पर्यटन पूर्वाधार अझै अपूरो छ। स्तरीय रिसोर्ट, होमस्टे, सूचना केन्द्र, रात्रि बसोबास, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका लागि सहज पहुँच, एड्भेन्चर पार्क, जिपलाइन, डिजिटल गेम जोन र इको–रिसोर्टको अभावले पर्यटकको बसाइ छोटिएको छ। अधिकांश पर्यटक तीनदेखि चार घण्टा बिताएर फर्किने गरेका छन्।

काँकरभिट्टास्थित पर्यटन कार्यालयका प्रमुख छाविलाल खतिवडाले जामुनखाडी पूर्वकै उत्कृष्ट सिमसार क्षेत्र भए पनि पर्याप्त प्रचारप्रसार र सरकारी प्राथमिकताको अभावले अपेक्षित लाभ लिन नसकेको बताउँछन्। कार्यालयले विद्युतीय डुङ्गा खरिदका लागि १० लाख रुपैयाँ अनुदान विनियोजन गरिसकेको जनाएको छ।

वन समितिले कनकाई नगरपालिकाले सिमसार विकासलाई अपेक्षित प्राथमिकता नदिएको गुनासो गरेको छ। अध्यक्ष गिरीका अनुसार नगरको गौरव आयोजना बन्न सक्ने सम्भावना हुँदाहुँदै आवश्यक बजेट र दीर्घकालीन योजना अभाव देखिएको छ। नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले भने बालउद्यान निर्माण, सडक स्तरोन्नति तथा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी थप लगानी भित्र्याउने प्रयास भइरहेको बताएका छन्।

एशियन हाइवेदेखि सिमसारसम्मको एक किलोमिटर सडकलाई ‘ग्रीन करिडोर’का रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। सडकको दुवैतर्फ फूल, हरियाली, आकर्षक गमला र व्यवस्थित सरसफाइ गर्न सकिए जामुनखाडीको सौन्दर्य र पर्यटक आकर्षण अझै बढ्ने विश्वास गरिएको छ।

सामुदायिक श्रम, प्राकृतिक सम्पदा र स्थानीय प्रतिबद्धताले निर्माण गरेको जामुनखाडी अहिले सरकारी लगानी, नीतिगत संरक्षण र आधुनिक व्यवस्थापनको प्रतीक्षामा छ। आवश्यक पूर्वाधार, प्रभावकारी प्रवर्द्धन र दीर्घकालीन योजनासहित अघि बढाउन सकिए जामुनखाडी पूर्वको मात्र होइन, नेपालको अग्रणी पर्यावरण पर्यटन गन्तव्यका रूपमा स्थापित हुने पर्याप्त सम्भावना बोकेको छ।