सङ्खुवासभा । नेपाल, भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्ड निर्माणले गति लिएको छ। सदरमुकाम खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडकमा हालसम्म ७५ प्रतिशत भौतिक र ८०.७१ प्रतिशत वित्तीय प्रगति हासिल भएको आयोजनाले जनाएको छ।
उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार सडक स्तरोन्नति तथा कालोपत्रका लागि हालसम्म एक अर्ब २५ करोड ८० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। सडक निर्माणको पहिलो चरणअन्तर्गत १४ किलोमिटर खण्डमा ९७ प्रतिशत काम सम्पन्न भएको छ भने दोस्रो चरणको १२ किलोमिटर सडकमा ८४ प्रतिशत प्रगति भएको छ। तेस्रो चरणमा ६२ प्रतिशत काम पूरा भएको निर्माण कम्पनी शर्मा–शिवशक्ति जेभीले जनाएको छ।
रु एक अर्ब ५५ करोड ८६ लाखभन्दा बढी लागतमा निर्माण जिम्मा लिएको कम्पनीले २०८० पुसभित्र काम सम्पन्न गर्ने लक्ष्य राखे पनि समयमै काम पूरा हुन नसकेपछि पटक–पटक म्याद थप गरिएको थियो। निर्माणमा ढिलाइ भएपछि आयोजना कार्यालयले कम्पनीसँग स्पष्टीकरण माग्नुका साथै धरौटी रकमसमेत जफत गरेको थियो।
यसैबीच, मोरङको जोगवनीदेखि चीन सीमावर्ती किमाथाङ्कासम्म जोड्ने ३५७ किलोमिटर उत्तर–दक्षिण कोशी राजमार्गको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ। सडक सञ्जाल विस्तारसँगै हिमाली भेगको किमाथाङ्का क्षेत्र पहिलो पटक राष्ट्रिय सडक नेटवर्कसँग प्रत्यक्ष जोडिएको छ।
भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेका अनुसार सडक पहुँच विस्तारले सीमावर्ती क्षेत्रमा व्यापार, पर्यटन र स्थानीय विकासका नयाँ अवसर सिर्जना गरेको छ। विशेषगरी च्याम्ताङदेखि घोङ्घोप्पासम्मको चुनौतीपूर्ण भीर क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको १०.८१ किलोमिटर सडक हस्तान्तरण भएपछि यातायात सञ्चालन सहज बनेको उनले बताए।
सडक निर्माण सम्पन्न भएसँगै गत जेठ १ गते पहिलो पटक खाद्यान्न बोकेका तीन वटा ट्र्याक्टर किमाथाङ्का नाकासम्म पुगेका थिए। यसलाई उत्तरी क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सरकारले उत्तर–दक्षिण कोशी राजमार्गलाई कोशी प्रदेशको आर्थिक समृद्धि, सीमा व्यापार विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि रणनीतिक महत्वको परियोजनाका रूपमा अघि बढाइरहेको छ।




















