कैलाली । लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच विवाद चर्किरहेका बेला आज हुने अस्पताल उद्घाटन कार्यक्रमअघि लम्की क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज बिहान अस्पताल उद्घाटनका लागि लम्कीचुहा आउने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्रीको आगमनअघि नै अस्पताल परिसर र आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । अस्पताल सञ्चालन र स्वामित्वको विषयमा प्रदेश सरकार तथा लम्कीचुहा नगरपालिकाबीच लामो समयदेखि विवाद जारी छ ।
प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले गत वैशाखमा अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवसहित तीन जना कर्मचारी खटाएको थियो । तर, नगर प्रमुख सुशिला शाहीले अस्पताल औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण नभएको भन्दै कर्मचारीलाई हाजिर हुन नदिन निर्देशन दिएपछि विवाद थप चर्किएको थियो ।
विवादकै क्रममा गत वैशाख ३० गते अस्पतालमा तालाबन्दी भएपछि लम्की क्षेत्रमा तनाव उत्पन्न भएको थियो । प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी बजेटसमेत विनियोजन गरिसकेको दाबी गरेको छ । तर नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न अस्वीकार गरेपछि समस्या समाधान हुन सकेको छैन ।
स्थानीय स्तरमा मुख्यमन्त्री शाह र मेयर शाहीबीचको राजनीतिक तथा आन्तरिक द्वन्द्वका कारण विवाद जटिल बनेको चर्चा पनि भइरहेको छ । अस्पताल उद्घाटनका क्रममा मेयर शाही पक्षधरले प्रदर्शन वा अवरोध गर्न सक्ने आशंकामा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।




















