इटहरी । प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सिटका आधारमा राजनीतिक दलहरूले निर्वाचन आयोगमा नाम पठाउन धमाधम समानुपातिक सांसद छनोट गरिरहेका छन्। आयोगले यही फागुन २८ गते बिहीबार दलहरूले प्राप्त गरेको समानुपातिक मतका आधारमा सिट संख्या तोक्दै ३ दिनभित्र सांसदको नाम पठाउन पत्राचार गरेको छ। 

त्यस आधारमा राजनीतिक पार्टीहरूले यसअघि पेस गरेका बन्दसूचीमा समावेश नामबाट समानुपातिक प्रणालीको नियमबमोजिम अहिले प्राप्त सिट संख्याका आधारमा सांसद चयन गरिरहेका हुन्। यस क्रममा नेकपा एमाले र श्रम संस्कृति पार्टीले समानुपातिक सांसद छानिसकेका छन् भने यसका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले बैठक राख्दै छन्। 

रास्वपा प्रवक्ता मनिष झाका अनुसार सामानुपातिक सांसद छनोटलगायत विषयमा निर्णय गर्न आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा सचिवालय बैठक बस्दै छ। प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ।

यस्तै आजै दिउँसो नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ।बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवन (बीपी नगर, ललितपुर) मा बस्ने छ।बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने कांग्रेसले जनाएको छ। प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ।