जुनु बिस्तारै बेन्चबाट उठिन्। स्कुल ब्याग झ्यालमा राख्छिन् । बाथरुम जाने बहानामा क्लासबाट बाहिर जान्छिन् र ब्याग लिएर पाले दाइको आँखा छलेर स्कुलगेटबाट बाहिर निस्कन्छिन्।

बाहिर निस्केर उनी सोच्छिन् चार नबज्दै घर गएमा ममीलाई शंका हुन्छ नपढेर भागेको यो सोचेर उनी आँपको बगंैचातिर लाग्छिन्। खुला ठाउँमा उनलाई आन्नद लाग्छ । आँखा चिम्म गर्छिन् । आँखा चिम्लनासाथ जुनुलाई चन्द्रलोकबाट सानो मान्छे आएर आऊ, खेल्न जाऊ भन्दै हात समातेर लिएर जान्छ। जुनु  खुसी हुँदै सानो साथीसंँग पछिपछि लाग्छिन्। गेटबाट भित्र पस्नासाथ फूलबारी हुन्छ । फूलहरू सुगन्ध छर्दै मुस्कुराउँदै एक आपसमा खुसी साट्दै थिए।  पुतलीहरू फूलमाथि उड्दै डाली फेर्दै आइरहेका थिए ।चौरमा कुनै विद्यार्थी खेल्दै थिए । कोही चित्र बनाउँदै थिए। कोही नाच्दै, कोही गाउँदै र कोही मादल बजाउँदै आफ्नोआफ्नो ग्रुपमा मस्त थिए। आहा कति रमाइलो! जुनुलाई खुशीले नाचूँनाचूँ लाग्छ। मन प्रफुल्ल हुन्छ।  उनले सानो चन्द्रलोकको मान्छेलाई सोध्छिन्– यहाँ अंग्रेजी, गणित र साइन्स पढाइ हुँदैन हो ? मिस सर पनि देख्दिन त म।

जुनुको प्रश्नले सानो मान्छे हाँस्छ र भन्छ यहाँ मिस सर हामी सबै साथी हो।  हामी संगै खेल्दै सबै काम गर्न सिक्छौ। यही नै हाम्रो पढाइ हो।

हेर त्यो ग्रुपका साथी एकदुई गन्दै डोरी खेल्दै छन् । त्यो गणितको पढाइ हो। अर्को ग्रुपमा हेर बिरूवा लगाउँदै पानी पनि हाल्दैछन् । तिनीहरू साइन्स पढ्दै छन् अनि अर्को ग्रुपका साथीहरूलाई हेर गानाबजाना गर्दै नाचिरहेका छन् । त्यो सिर्जनात्मक अभिव्यक्ति हो। अर्को ग्रुपलाई हेर, अंग्रेजीमा परिचय गर्दैछन्। यो अंग्रेजी पढाइ हो। यसरी हामी यहाँ पढ्छौ र हरेक काम गर्न सिक्छौ । हामीले यसरी सिकेका कुरा क्लासमा गएर मीस सरसँग छलफल गर्छौ र नबुझेको कुरा सोध्छौ र  सिक्छौ ।

सानो मान्छेको कुरा सुनेर जुनुको मनबाट विद्यालय जान र पढ्दा लाग्ने डर भाग्छ । उनले आँखा खोल्छिन्। सानो मान्छे थिएन । जुनी खुशीखुशी घर जान्छिन् । अर्को दिन नडराएर विद्यालय जान्छिन्। उनी हेड सरको कोठामा पस्छिन् र आफूले चन्द्रलोकमा सानो मान्छेसंग गरेको सबै कुरा भन्छिन् ।

हेड सर मुस्कुराउँदै भन्नुहुन्छ –जुनु तिमीहरूलाई पनि अब म भयरहित वातावरणमा पढाउने व्यवस्था मिलाउँछु। चिन्ता नगर । जुनु रमाउँदै आफ्नो क्लासतिर पस्छिन्।