इटहरी । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन इटहरीस्थित नमुना कलेजले ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ। कलेजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले जानकारी दिए।

२०७० सालमा स्थापना भएको नमुना कलेजले शिक्षासँगै विभिन्न सामाजिक तथा मानवीय अभियानमा समेत सहभागिता जनाउँदै आएको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कलेजले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

8e3fb066-ba08-4bb2-aee1-4f68244ef3ac

अध्यक्ष खड्काले शिक्षा प्रदान गर्ने संस्थाको सामाजिक उत्तरदायित्वसमेत भएकाले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिन आवश्यक रहेको बताए।

कलेजले आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा आफ्नो सहभागिता र सहयोगलाई निरन्तरता दिने जनाएको छ।