११ साउन, काठमाडौं । पछिल्ला केही घटना हेर्दा देशभर लागुऔषधको जालो निकै डरलाग्दो रुपमा फैलिएको छ । केही स्थानमा उपलब्धि हात लागेपनि समग्रमा सुरक्षा निगरानी कमजोर देखिएको छ । काठमाडौं उपत्यका लगायत देशका प्रायः शहरमा लागुऔषध प्रयोगकर्ता बढिरहेका छन भने विकसित हुँदै गएका गाउँमा पनि यो रोग सल्किएको छ ।
काठमाडौं उपत्यकामै छिटफुट लागुऔषधका कारोबारी पक्राउ पर्ने गरेपनि प्रयोगकर्ताको संख्या थपिँदै गएको छ । हालै प्रहरीले गरेको एक पत्रकार सम्मेलनमा यस वर्ष गुण्डगर्दीतिर फोकस गरेको देखियो । लागुऔषधसम्बन्धी प्रहरीका कार्यक्रम खासै देखिएका छैनन् । केही सूचना आए मात्र यस्ता मुद्दामा प्रहरी अगाडि बढ्ने गरेको देखिन्छ । ८ साउनमा गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले सार्वजनिक गर्यो । जसमा लागुऔषधका क्षेत्रमा खासै उपलब्धि भएको तथ्यांक आएन ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गरी अपराध अनुसन्धान तथा अभियुक्तहरूको पहिचान सहज बनाउन उनीहरूको तीन पुस्ते विवरणसहितको अभिलेख राखेको जानकारी दियो । प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले पटके अपराधी र कसुरको प्रकृतिअनुसार छुट्टाछुट्टै प्रोफाइल तयार पारिएको जानकारी दिएका थिए ।
अवैध लागुऔषधका घटना
- १० साउनमा प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गर्यो । काठमाडौं, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट अवैध लागुऔषध गाँजा करिब ३० किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गर्यो । प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको थियो ।
- झापाको मेचीनगर नगरपालिका–६ बाट दुई जना पक्राउ परे । मोरङको कानेपोखरी गाउँपालिका–२ बाट एक र रतुवामाई नगरपालिका–८ कुखरेडाँडाबाट एक, सिराहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलबाट एक, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर गाउँबाट दुई र गुलरिया नगरपालिका–११ बाट एक, कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परे ।
-कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकबाट दुई, गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट एक, धनगढी उपमहानगरपालिका–७ मोतिचोकबाट एक, लम्कीचुहा नगरपालिका–७ खरौलाबाट एक जना पक्राउ परे ।
-नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ गेर्मीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १९८ एम्पुल, फेनारगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुलसहित भारत उत्तर प्रदेश महाराजगञ्ज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलमसहित दुई जनालाई प्रहरीले पक्राउ गर्यो । भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको थियो । कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट दुई, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ बाट एक र सुर्खेतको भेरीगंगा नगरपालिका–१२ राजीगाउँबाट तीन जनालाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले पक्राउ गर्यो ।
- १० साउनमा सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गर्यो । करिब ३२० किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरियो । कुखुरा फार्ममा अवैध लागुऔषध तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परे । प्रहरीले बाप्र ०१–०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु४७प २५२८ नम्बरको मोटरसाइकलसमेत बरामद गर्यो ।
-१० साउन गते कोशी प्रदेश प्रहरी कार्यालयले झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय विवेक जबेगुलाई छ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र प्र १–०१–०१३ प ५२ नं को मोटरसाइकलसहित नियन्त्रणमा लियो ।
वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा–९ का २२ वर्षीय अरमान खानलाई दुई ग्राम चार मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लियो । अस्थायी प्रहरीचौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका–८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउनसुगर र प्रहरीचौकी रमाइलोले बेलबारी नगरपालिका–११ का २९ वर्षीय रणध्वज राईलाई छ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर र प्र१–०२–०४४ प ११८ नं को मोटरसाइकलसहित नियन्त्रणमा लियो ।
- साउन ९ गते साँझ धनकुटा–१ घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मनबहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गर्यो । मधेस प्रदेशमा लागुऔषधका घटना हेर्ने हो भने बितेका तीन आर्थिक वर्षमा लागूऔषधसहित दुई हजार ८११ जना पक्राउ परे । दुई हजार १२१ वटा लागूऔषध सम्बन्धित मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिकसहित दुई हजार ८११ जना पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेशको व्यथा
बितेको आवमा मधेस प्रदेशमा लागूऔषधसहित प्रहरीले ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी गरी ८७१ जनालाई पक्राउ गरेको छ भने ६३० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको छ । यसैगरी, सो अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ वटा ट्याब्लेट, दुई हजार ११८ सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद भएको छ ।
अघिल्लो आव २०८१/८२ मा लागूऔषधसहित ८३६ जना पक्राउ पर्दा ५८५ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यस क्रममा १६ हजार ५७३ किलोग्राम गाँजा, ६१ ग्राम ब्राउनसुगर, ५०५ किलो ग्राम चरेस, ४५ किलो ग्राम अफिम, दुई हजार ७०५ ग्राम हिरोइन, तीन लाख ७० हजार ४४२ ट्याब्लेट, सात हजार ५०४ सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद भएको थियो ।
यसअघि गत आव २०८०/८१ मा प्रहरीले मधेस प्रदेशबाट लागूऔषधसहित एक हजार १०४ जनालाई पक्राउ गरेको थियो भने ७९७ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । सो आवमा आठ हजार ५३९ किलो गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलो १४६ ग्राम चरेस, एक ग्राम अफिम, एक हजार १३१ ग्राम सात हजार १११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ वटा ट्याब्लेट, तीन हजार ४१६ सिरफ र ५४ हजार ४०४ इन्जेक्सन बरामद भएको थियो । यसरी खुला सिमानाकाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोड्ने विभिन्न नाकाका औषधि पसलहरुबाट सहजै ल्याउने लागूऔषध राजधानी काठमाडाँैसम्म पुग्ने गरेका छन् ।
सीमावर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन र खरिद गरी नेपाल ल्याउने युवाजमात बढ्दो छ । प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरेर चेकजाँचलाई कडाई गरेसँगै अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागूऔषधका सामग्रीहरु बरामद हुने गरेको छ । लागूऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।
गोली काण्ड
-९ साउनमा प्रहरीले गोली चलाएर मिथिला नगरपालिकाको ढल्केवरबाट दुई जना लागुऔषध कारोबारी नियन्त्रणमा लियो । प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाइएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा भारत बिहारको हर्लाखी थाना वडा नम्बर ५ बस्ने वर्ष २६ का सन्तोषकुमार महतो र बासोपट्टी थाना वडा नम्बर २ बस्ने वर्ष ४५ का मिथिलेश साहु छन् । उनीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद भयो ।
-यसअघि बिहीबार मात्र सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकबाट प्रहरीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले गोली प्रहार गरी २४३ ग्राम ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
-रुपन्देहीमा प्रहरीको जवाफी फायरिङपछि एक भारतीय लागूऔषध कारोबारी पक्राउ परे । साउन ८ गते मायादेवी गाउँपालिका–५, गुवानिया चोक नजिक लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगर, एक थान पेस्तोल र दुई राउन्ड गोलीसहित भारतको उत्तर प्रदेश, अमेठी निवासी अन्दाजी ५० वर्षीय एकवाल खानलाई नियन्त्रणमा लियो ।
-३१ जेठमा कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध बरामद गर्यो । लागुऔषधसहित तीन जना पक्राउ परे । पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका ३५ वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र अर्का भारतीय ३३ वर्षीय महमद सद्दाम थिए । ३० जेठमा ललितपुरमै ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल ओसारपसारमा संलग्न समूहलाई पक्राउ गर्न प्रहरीले गोली चलायो । बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो रंगको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल फेला पर्यो ।
- ५ साउनमा प्रहरीले ललितपुरको नख्खु क्षेत्रबाट २ किलो ७९३ ग्राम लागुऔषध पोल्याडसहित मकवानपुरका तीर्थ बहादुर ठोकरलाई पक्राउ गर्यो । ठोकरको साथबाट लागुऔषध, डिजिटल तराजु बरामद गरियो । नख्खु फूलबारी मार्गबाट २८ वर्षीय एक युवकलाई नियन्त्रणमा लिइएको थियो । मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खु बस्ने २८ वर्षीय तीर्थ बहादुर ठोकर पक्राउ परेका थिए ।

















