लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा.बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उनले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक राखेर सुझावहरू लिनुका साथै केही निर्णयहरू पनि गराए ।

यसअघिका मुख्य सचिव शंकरदास वैरागीले पछिल्ला महिनामा सचिव बैठक नियमित राख्न सकेका थिएनन् । प्रत्येक महिना बसेर महत्वपूर्ण निर्णय लिनुपर्ने सचिव बैैठक केही महिनादेखि अवरुद्ध हुँदै आएको थियो ।

तर, मुख्य सचिव अर्यालले हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने निर्णय गराएर बैठकलाई निरन्तरता दिलाएका छन् । यद्यपि, मुख्य सचिव अर्यालले सचिवहरूको पहिलो बैठकमा नै कडा प्रश्नहरूको सामना गर्नुपरेको छ ।

६० जनाभन्दा बढी सचिवहरू सहभागी सो बैठकमा केही सचिवहरूले प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको लाचार छाया र एसम्यानबन्दा प्रशासनिक संयन्त्र ध्वस्त बनेको टिप्पणी गरे । उनीहरूले मुख्य सचिव अर्याललाई एसम्यान नबन्न र प्रशासनिक संयन्त्रलाई कोमामा पुग्नबाट बचाउन सुझाव दिए ।

केही सचिवहरूले सचिवहरूकै विरुद्ध समेत आक्रोश पोखे । बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार प्रधानमन्त्री कार्यालयकै एक सचिवले मन्त्रीको चाकडी र चाप्लुसीमा रमाउने सचिवहरूले प्रशासनको साख गिराएको भन्दै आपत्ति व्यक्त गरे । ‘योग्यता र क्षमताबिना नै महत्वपूर्ण र संवेदनशील मन्त्रालयमा जान खोज्ने र त्यहाँ गएर मन्त्रीको एसम्यान बन्दै भ्रष्टाचारलाई संस्थागत गर्ने काम सचिवले गर्नु चिन्ताजनक र आपत्तिजक छ’ –प्रधानमन्त्री कार्यालयका ती सचिवले भने ।

ती सचिवले यसअघिका मुख्य सचिवले संवेदनशील मानिएको मन्त्रालयमा सचिव पठाउँदा ध्यान पु¥याउन नसकेकाले सिंगो प्रशासन संयन्त्र बद्नाम र दूषित बन्न पुगेको बताए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले चाकडी र चाप्लुसीका भरमा गृह मन्त्रालयसम्बन्धी कुनै जानकार नभएकालाई सचिवमा लैजानु र गृहबारे केही जानकार नभएका सचिव टेकनारायण पाण्डे पनि आफैं गृह मन्त्रालयमा जान मरिहत्ते गरेर लाग्दा त्यसले समस्या सिर्जना गरेको ती सचिवले दाबी गरे ।

‘त्यतिखेर गृहमन्त्रालयमा सचिव पठाउँदा मुख्य सचिवले विशेष ध्यान दिनुपथ्र्यो तर मुख्य सचिवले वास्ता गर्नुभएन अन्ततः सिंगो प्रशासन नै बद्नाम बन्न पुग्यो’ –ती सचिवले भने । त्यतिखेर पाण्डे गृहसचिवमा जाँदा नै गृहसम्बन्धी कुनै जानकारी नै नभएको भन्दै उहाँको व्यापक आलोचना भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री खाँण र तत्कालीन गृहसचिव पाण्डे दुवै जना हाल जेलमा रहेका छन् ।