jhinge-dau-2-new-posterपवन सिग्देल

इटहरी  — निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ कथानक चलचित्र ‘झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ। टिजरसँगै निर्माण टिमले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मबारे जानकारी दिएको हो।

सार्वजनिक टिजरले पारिवारिक सम्बन्ध, सम्पत्तिको विवाद र भावनात्मक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाएको छ। सुखी देखिने एउटा परिवारमा दुई बुहारीबीच रुखको अंशवण्डालाई लिएर विवाद सुरु भएपछि कथाले नयाँ मोड लिन्छ। रुखको कानुनी स्वामित्व भएकी आमाको आवश्यकता परेपछि उनको खोजी सुरु हुन्छ। तर रहस्यमय रूपमा आमा बेपत्ता भएपछि परिवारमा थप जटिलता उत्पन्न हुन्छ। 

टिजरले परिवारमा फेरि मेलमिलाप हुनेछ कि सम्पत्तिको विवादले सम्बन्ध अझ बिग्रनेछ भन्ने उत्सुकता जगाउने प्रयास गरेको छ। 

चलचित्रमा केकी अधिकारी र आँचल शर्मा दुई बुहारीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइका रूपमा देखिएका छन्। हिउँवाला गौतमले आमाको भूमिका निर्वाह गरेकी छन्। सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी, संगम भण्डारी र विजय देउजालगायत कलाकारको पनि अभिनय रहेको छ। टिजरको अन्त्यमा आर्यन सिग्देल नेलले बाँधिएको दृश्यमा देखिएपछि उनको भूमिकाप्रति पनि दर्शकमा चासो बढेको छ।

पत्रकार सम्मेलनमा निर्देशक देउजाले पहिलो श्रृंखलाले जस्तै ‘झिँगेदाउ २’ ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। उनका अनुसार चलचित्रले परिवारभित्रका सम्बन्ध, अपेक्षा, स्वार्थ र भावनात्मक उतारचढावलाई यथार्थपरक ढंगले प्रस्तुत गर्नेछ।

विष्णु कल्पित घिमिरेको छायांकन रहेको चलचित्र कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपालको प्रस्तुतिमा निर्माण भएको हो। ‘झिँगेदाउ २’ आगामी असोज २ गते (सेप्टेम्बर १८) देखि देशभर प्रदर्शनमा आउनेछ। 

https://www.youtube.com/watch?v=i0_eqL5q7jk