आशििका आचाार्य/  सुन्दरहरैंचा। तराई क्षेत्रमा बढ्दो गर्मीका कारण सर्पहरू सुरक्षित र शीतल स्थानको खोजीमा मानव बस्ती नजिक आउन थालेका छन्। यसै क्रममा सुन्दरहरैंचा नगरपालिका–७, गोठगाउँ निवासी होमनाथ आचार्यको घरभित्र एक सर्प फेला परेको छ।

घरको काठे संरचना र छानाको भागमा सर्प देखिएपछि परिवारका सदस्यहरू सतर्क बनेका थिए। स्थानीयका अनुसार पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढेसँगै यस्ता घटनाहरू बढ्न थालेका छन्। सर्पले कुनै क्षति नपुर्‍याए पनि घरभित्र देखिएपछि परिवार र छिमेकीहरूमा केही समय चासो र सावधानीको अवस्था सिर्जना भएको थियो।

स्थानीयवासीहरूले गर्मी मौसममा घर वरिपरिका झाडी तथा फोहोर सफा राख्न, रातिको समयमा विशेष सावधानी अपनाउन र सर्प देखिएमा अनावश्यक जोखिम नलिई सम्बन्धित उद्धारकर्मीको सहयोग लिनुपर्ने बताएका छन्।