आशिका आचार्य / सुनसरी । निर्माणाधीन एसियन हाइवे क्षेत्रमा बढ्दो धुलो प्रदूषणका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ। सडक निर्माण, उत्खनन तथा सवारी साधनको आवतजावतका कारण उड्ने धुलोले वातावरण धुम्मिएको छ भने घर, पसल र सार्वजनिक स्थलहरू प्रभावित भएका छन्।
स्थानीयका अनुसार नियमित पानी नछर्किँदा धुलोको समस्या झन् बढेको छ। धुलोका कारण खोकी, घाँटी दुख्ने, आँखा पोल्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न थालेको गुनासो गरिएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र दमका बिरामी बढी प्रभावित भएका छन्।
स्थानीय बासिन्दा रामप्रसाद खनालले विकास आवश्यक भए पनि जनस्वास्थ्यलाई असर नपर्ने गरी निर्माण कार्य गर्नुपर्ने बताए। कृष्टिना खनालले नियमित पानी छर्किए धुलो नियन्त्रणमा राहत मिल्ने धारणा राखिन्।
विज्ञहरूले धुलो नियन्त्रणका लागि नियमित पानी छर्किने, निर्माण सामग्री व्यवस्थित राख्ने र सवारी साधनको गति नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। स्थानीयले सम्बन्धित निकाय र निर्माण कम्पनीलाई धुलो नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।




















