सुनसरी ।  विश्व बैंकको सहयोगमा निर्माण भइरहेको इटहरीको महत्त्वाकाङ्क्षी जुटविकास–तालतलैया–आँपगाछी सडक आयोजना अन्तिम चरणमा पुगेको छ। करिब ८४ करोड रुपैयाँ लागतमा निर्माणाधीन ८.५ किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न हुने तयारीमा रहेसँगै इटहरीको पूर्वी क्षेत्रले आधुनिक पूर्वाधारको नयाँ स्वरूप पाउने भएको छ।

इटहरी उपमहानगरपालिकाको गौरवको आयोजनाका रूपमा हेरिएको जुटविकास–तालतलैया–आँपगाछी सडक निर्माणको अधिकांश काम सम्पन्न भइसकेको छ। आधुनिक सडकबत्ती, चौडा सडक, व्यवस्थित फुटपाथ र लेन मार्किङसहितको यो सडक सञ्चालनमा आएपछि स्थानीयले वर्षौँदेखि भोग्दै आएको धुलो, हिलो र साँघुरो सडकको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

उदयपुरको त्रियुगा–७ स्थित आशिष् आशीर्वाद जेभीले २०८१ असार ३ गते सम्झौता गरी निर्माण थालेको यो परियोजनामा हाल मुख्य कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। अब फुटपाथ निर्माण, सडकबत्ती सञ्चालन, रोड मार्किङ तथा अन्य फिनिसिङका काम मात्र बाँकी रहेका छन्।

निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीका अनुसार करिब १.५ किलोमिटर क्षेत्रमा फुटपाथ ब्लक बिछ्याउने तथा ४.५ किलोमिटर सडकमा लेन डिभाइडर, जेब्रा क्रसिङ र दिशा सङ्केत राख्ने काम भइरहेको छ। आयोजनाको कुल लागत ८४ करोड रुपैयाँमध्ये करिब ८ करोड रुपैयाँ बराबरको काम बाँकी रहेको उनले बताए।

इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार सडकले वडा नम्बर २, ३ र ४ लाई समेटेको छ। विभिन्न क्षेत्रमा ३२ फिटदेखि ६० फिटसम्म चौडाइको सडक निर्माण गरिएको छ। विशेषगरी वडा नम्बर ३ मा बनेको ६० फिट चौडा सडकलाई इटहरीकै आधुनिक र व्यवस्थित सडकमध्ये एक मानिएको छ।untitled-design-(73)_3Ar3kaZP8D

स्थानीय जनप्रतिनिधिहरूका अनुसार सडकले तालतलैया क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान पुर्‍याउनेछ। इटहरी–४ का वडाध्यक्ष भक्त लामाले सडक निर्माणपछि तालतलैयामा पर्यटकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे।

यस्तै, इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीले यो सडक इटहरी र धरानलाई जोड्ने रणनीतिक मार्गका रूपमा विकसित हुने बताए। उनका अनुसार सडक सञ्चालनमा आएपछि इटहरी–धरान दूरी करिब ८ किलोमिटरमा सीमित हुनेछ भने कृषि उत्पादनको ढुवानी, व्यापार र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्नेछ। परियोजनाको अर्को आकर्षण पैदलयात्रीमैत्री पूर्वाधार हो। केही क्षेत्रमा ७ मिटरसम्म चौडा फुटपाथ निर्माण गरिएकाले पैदलयात्रीको सुरक्षित आवतजावतसँगै सडकको सौन्दर्यसमेत बढ्ने अपेक्षा गरिएको छ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले यो आयोजना इटहरीको पूर्वाधार विकासमा कोसेढुङ्गा सावित हुने बताए। उनका अनुसार तीव्र सहरीकरण भइरहेको इटहरीलाई आधुनिक, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्ने लक्ष्यअनुसार सडक निर्माण गरिएको हो।

निर्माण सम्पन्न भएपछि सडक उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ। यद्यपि सम्झौताअनुसार हस्तान्तरणपछिको एक वर्षसम्म सडकको गुणस्तर सुनिश्चित गर्ने, मर्मत–सम्भार गर्ने तथा देखिएका प्राविधिक समस्या समाधान गर्ने जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ।

स्थानीयवासीहरूका अनुसार सडक पूर्ण सञ्चालनमा आएपछि तालतलैया क्षेत्रको पर्यटन, कृषि उपजको बजार पहुँच, धरान–इटहरी आवागमन तथा पूर्वी क्षेत्रको आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउनेछ। आधुनिक सडकबत्ती, आकर्षक फुटपाथ र फराकिलो सडकसहितको यो परियोजनाले इटहरीलाई नयाँ सहरी पहिचान दिलाउने अपेक्षा गरिएको छ।