इनरुवा । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा आयोजित एक कार्यशालाले एमालेसँग आबद्ध नेता–कार्यकर्ता तथा वामपन्थी वृत्तमा नयाँ उत्साह थपेको सहभागीहरूले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट मदन भण्डारी स्मारक संरक्षक समाजद्वारा आयोजित कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनका चुनौती, सुधारका आवश्यकता र भविष्यका सम्भावनाबारे गहन छलफल गरिएको थियो।
नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय” विषयक कार्यशालामा एमालेसँग आबद्ध विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यशालामा सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै वाम आन्दोलनमा देखिएका नीतिगत, कार्यशैलीगत तथा संगठनात्मक संकटबारे विश्लेषण गरेका थिए। उनले अनुभव, इतिहास र कार्यदक्षताको समन्वयबाट मात्रै भविष्यको बलियो वाम शक्ति निर्माण सम्भव हुने धारणा राखे।
कार्यपत्रमाथि टिप्पणी गर्दै डा. दिवाकर रेग्मीले कम्युनिस्ट आन्दोलन निरन्तर सुधारको आन्दोलन भएकाले जनतामुखी भएर अघि बढ्नुपर्ने बताए। गणेश प्रसाद दाहालले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आन्दोलन निर्माणमा बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भगवती चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र निरा खनाल, इनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कोशी प्रदेश कमिटी सदस्यहरू शुशिला पहाडी, अजय कुर्शियत, राजकुमार दंगाल, लोकेश निरौला तथा जिल्ला र नगर तहका नेता–कार्यकर्ताको पनि सहभागिता थियो।
प्रमुख अतिथि चौधरीले मदन भण्डारी र जीवराज आश्रितले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान स्मरण गर्दै सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्न सके एमाले पुनः देशको प्रमुख शक्तिका रूपमा स्थापित हुन सक्ने बताइन्। उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढ बनाउन आग्रह गरिन्।
युवा नेता लोकेश निरौलाले २०८२ फागुन २१ को आमनिर्वाचनपछि निराश बनेका वाम कार्यकर्तामा उक्त कार्यक्रमले नयाँ ऊर्जा र उत्साह थपेको प्रतिक्रिया दिए। कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्मारक संरक्षक समाजका अध्यक्ष सरोज बरालले गरेका थिए।

















