सुनसरी | इटहरीमा जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताले उपाधि भिडन्तका दुई दावेदार पाएको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलबाट विश्वआदर्श कलेज र नमुना कलेज फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा इटहरीकै विश्वआदर्श कलेजले विराटनगरको कान्तिपुर कलेजलाई ४५ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले १७ ओभरमा ३ विकेट गुमाउँदै १५८ रन बनायो । रोशन खत्रीले ५१ रनको आकर्षक अर्धशतक पूरा गर्दा भूपाल लुइँटेल ४७ र आकाश सर्राफ २९ रनमा योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ता र खेमराज हमालले क्रमशः दुई र एक विकेट लिए ।
जवाफमा १५९ रनको लक्ष्य पछ्याएको कान्तिपुर कलेज ७ विकेट गुमाउँदै १०७ रनमै सीमित भयो । मन्नु दासले सर्वाधिक ३८ रन बनाए पनि जित दिलाउन सकेनन् । विश्वआदर्शका अनिष कुँवरले ३ तथा भूपाल लुइँटेलले २ विकेट लिँदै विपक्षी ब्याटिङ धराशायी बनाए । उत्कृष्ट प्रदर्शनका लागि भूपाल लुइँटेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो सेमिफाइनलमा नमुना कलेजले दमकको आस्था कलेजलाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । जनता क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले १७ ओभरमा ७ विकेट गुमाएर १३४ रनको योगफल तयार गर्यो । कप्तान गौरव कटुवालले अविजित ६१ रनको कप्तानी इनिङ खेले भने कृष्ण विष्टले १९ र राजु विकले १४ रन जोडे ।
लक्ष्य पछ्याउने क्रममा आस्था कलेज १७ ओभरमा ४ विकेट गुमाउँदै १३१ रनमै रोकियो । भूपाल दंगालले अविजित ५० रन बनाउँदा सार्थक न्यौपानेले २४ रनको योगदान दिए । तर अन्तिम ओभरसम्म चलेको प्रतिस्पर्धामा नमुनाले जित जोगाउन सफल भयो । यस खेलका ‘प्लेयर अफ द म्याच’ गौरव कटुवाल घोषित भए ।
आयोजक इटहरी आदर्श जाइन्ट्सका अनुसार तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त शनिबार विश्वआदर्श र नमुना कलेजबीच हुनेछ ।




















