इटहरी । कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउने मागलाई लिएर संस्थापनपक्ष र महामन्त्रीहरूबीचको द्वन्द्वले कांग्रेस विभाजनउन्मुख भएको छ । पार्टी केन्द्रीय सचिवालयको तर्फबाट आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनको आह्वान गर्ने तयारी गरेका छन् ।

संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय विशेष महाधिवेशन बोलाउन लागेका हुन् । २९ असोजमा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग गरिएको निवेदन केन्द्रीय कार्यालयमा दर्ता छ । निवेदन दर्ताको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको व्यवस्थाअनुसार समयसीमा २८ पुससम्म छ । त्यस अवधिमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र शर्माले २७–२८ पुसमा काठमाडौंमा विशेष महाधिवेशन बोलाउने निर्णय लिएका हुन् ।

महामन्त्री थापा र शर्माले विधानको धारा १७ को उपधारा २ टेकेर विशेष महाधिवेशन आह्वान गर्ने दाबी गरेको छ । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानको उक्त दफामा छ । धारा ३ को उपधारा १२ मा ‘केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र पार्टीको केन्द्रीय कार्यालयलाई समेत बुझाउनेछ’ भनिएको छ । धारा २७ को उपधारा १ मा ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ’ भन्ने उल्लेख छ ।

यता महामन्त्रीले बोलाउने विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने तर्क गर्दै संस्थापनपक्षले प्रतिनिधिहरूलाई काठमाडौं नआउन निर्देशन दिइरहेको बेला महामन्त्रीद्धयले आज विशेष महाधिवेशन आह्वान गर्न लागेका हुन् । १८ पुसमा बसेको कार्य सम्पादन समितिको बैठकले २१ फागुनको निर्वाचन पछाडि २८–३१ वैशाखमा १५औं महाधिवेशनको तालिका पास गरेको छ । तर कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय थापा र शर्मासहित पाँचजना नेताले चुनावअघि नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु अनिवार्य भएको भन्दै पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई ‘कोट’ गरेर भोलिपल्टै केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले मातहतका कमिटीहरूलाई विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले निर्वाचनमा जुट्न उल्लेख गर्दै परिपत्र गरेका छन् ।

महामन्त्री पक्षधर नेताहरूले ‘फोड्न होइन, बहुमतको दम्भ र अहंकार तोड्न, एक्लै चुनाव लड्न सक्ने गरी कांग्रेसलाई जोड्न’ भन्ने नारासहित सामाजिक सञ्जालमा अभियान थालेका छन् । ‘आगामी २७–२८ पुसमा हुने दोस्रो विशेष महाधिवेशन भव्यताका साथ सफल पारौं, काठमाडौं जाऔं’ भन्ने प्रचार सामग्रीसमेत सामाजिक सञ्जालमा व्यापक बनाइएको छ ।

विशेष महाधिवेशन पक्षधरले बुधबार विभिन्न १८ समिति गठन गरेका छन् । पूर्वसभापति तथा पूर्वकेन्द्रीय सदस्यहरूको समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन, जिल्ला क्षेत्र फोकलपर्सन समन्वय समिति गठन भएका छन् ।