पवन सिग्देल,इटहरी । तेस्रो अन्तर–कलेज टी–२० क्रिकेट प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा विश्व आदर्श कलेजले कस्तुरी कलेज इटहरीलाई फराकिलो २३७ रनको अन्तरले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको विश्व आदर्श कलेजले निर्धारित २० ओभरमा मात्र १ विकेट गुमाउँदै २७८ रनको विशाल योगफल खडा गर्‍यो। विश्व आदर्शका आकाश सराफले ५० बलमा आक्रामक ११२ रन बनाउँदै शतकीय पारी खेले भने रोशन खत्रीले ५९ बलमा अविजित १०३ रन जोडे। सकुशल श्रेष्ठले १८ रनको योगदान दिए। कस्तुरी कलेजका तर्फबाट सिदार्थ यादवले १ विकेट लिन सफल भए।
२७९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा कस्तुरी कलेज १३ ओभरमै सबै विकेट गुमाउँदै मात्र ४२ रनमै समेटियो। कस्तुरीका लागि आशिष अग्रवालले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ विश्व आदर्शका भुपाल लुइँटेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए भने अनिश कुँवरले ४ विकेट हात पारे। खेलको म्यान अफ द म्याच आकाश सराफ घोषित भए।
आजकै दोस्रो खेलमा कान्तिपुर कलेज विराटनगरले रेड स्टार कलेज पथरीलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको कान्तिपुर कलेजले १७ ओभरमा १४६ रन बनायो। कान्तिपुरका निश्चल गुप्ताले ४३ रन, मन्नु दासले ४३ रन तथा शम्भु मण्डलले ३७ रन बनाए। रेड स्टार कलेजका सुधिर बस्नेत र अभिषेक बी।के।ले समान १–१ विकेट लिए।36f16987-a01b-49db-8249-430596af746a
१४७ रनको लक्ष्य पछ्याउँदै रेड स्टार कलेज १६।५ ओभरमै सबै विकेट गुमाउँदै १०४ रनमै सीमित भयो। रेड स्टारका लागि सुधिर बस्नेतले ३८ रन र अभिषेक बी।के।ले २८ रन बनाए। बलिङतर्फ कान्तिपुरका सन्तोष गुप्ताले ३ विकेट लिए भने मनिश यादव र आदित्य शाहले समान २–२ विकेट तथा अर्विन्द मण्डलले १ विकेट लिए। खेलको म्यान अफ द म्याच कान्तिपुर कलेजका निश्चल गुप्ता बने।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेजको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालन भइरहेको छ। प्रतियोगितामार्फत कोशी प्रदेशका कलेजस्तरका क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदको माध्यमबाट शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जायन्ट्सले जनाएको छ।