इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच केही दिनअघि दुई बुँदे सहमति भएपछि एकीकरणको प्रक्रिया अघि बढेको हो। सो सहमतिलाई राप्रपा नेपालको बैठकले मंगलबार अनुमोदन गरेको थियो।

यो सँगै लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन्।

एकीकरणसँगै राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक हैसियत दिने प्रतिबद्धता लिङ्देनले जनाएका छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार, पार्टीको महाधिवेशन ६ महिना पर सारिएको छ र निर्वाचनको वातावरणलाई ध्यानमा राख्दै तत्काल पदको प्रतिस्पर्धाभन्दा संगठन मजबुत बनाउने रणनीति लिइएको छ।

राजनीतिक असन्तुष्टि र नेतृत्व विवादका कारण छुट्टिएको राप्रपा पुनः एक ठाउँमा फर्किन लागेको यो घटनालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।