इटहरी उपमहानगरपालिका वडा नं. २ मा अवस्थित क्रिम्सनएकेडेमी स्कूलले आफ्नो ९औँ स्थापना दिवसको अवसरमा बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ। प्रदर्शनीको उद्घाटन इटहरी उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाले रिबन काटेर गर्नुभएको थियो। प्रमुख अतिथि रहेका वडाध्यक्ष कोइरालासहित के. एम. सि. ए. सुनसरीका अध्यक्ष हरी आचार्य र विद्यालय व्यवस्थापन समिति (व. व्य. स.) का अध्यक्ष अर्जुन कुमार उप्रेती विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

विद्यालयमा कक्षा  ५ सम्म अध्ययन-अध्यापन गराइँदै आएको छ। यस विद्यालयका विद्यार्थीहरूले विभिन्न प्राविधिक, कलात्मक, तथा वैज्ञानिक सामग्रीहरूको प्रदर्शनीमा सक्रिय सहभागिता जनाएका थिए। प्रदर्शनीमा जस्तै कि रोबोटिक्स, इलेक्ट्रोनिक्स, वैज्ञानिक मोडेल, कला, संस्कृतिसम्बन्धी सामग्रीहरू, स्थानीय प्रविधिहरू जस्ता ३५ भन्दा बढी प्रकारका प्रदर्शनी सामग्रीहरू प्रदर्शन गरिएका थिए। विद्यार्थीहरूले विभिन्न विषयमा आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए।

साथै, लोप हुँदै गएका स्थानीय परम्परागत सामाग्रीहरू पनि प्रदर्शनीमा राखिएको थियो। हलो, जुवा, जोतारो, हँलुड, जातो, थुन्चे, खुर्मी, पराल, लोटा, फुर्लुङ लगायतका ३० भन्दा बढी स्थानीय सामग्रीहरू प्रदर्शन गरिएका थिए। विद्यार्थीहरूले यी सामग्रीहरू कसरी निर्माण गरिन्छन् र प्रदर्शनीको उद्देश्य के हो भन्नेबारे अभिभावकहरूले राखेका प्रश्नहरूको जवाफ स्वयम् विद्यार्थीहरूले दिएका थिए। प्रदर्शनीमा करिब १००० जना अभिभावक, शुभचिन्तक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेका थिए।विद्यालयका प्रधानाध्यापक गणेश कोइरालाले "विद्यार्थीहरूले केवल किताबी ज्ञान मात्रै आर्जन गर्नु हुँदैन, उनीहरूमा व्यवहारिक ज्ञान पनि हुनुपर्छ। काठ, कागज, र ग्लुको सहायताले मोडेल निर्माण गर्ने सीप सिकेपछि उनीहरूले भविष्यमा ठूला परियोजनाहरूमा योगदान दिन सक्छन्। विद्यालयले त्यस्ता अवसरहरू उपलब्ध गराउनुपर्छ" भन्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई सिर्जनात्मक बनाउनका लागि विद्यालयले निरन्तर प्रयास गरिरहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता रहने जानकारी दिनुभयो।WhatsApp Image 2025-03-06 at 7.38.40 AM (2)

प्रमुख अतिथि माधव कोइरालाले शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै क्रम्सिन एकेडेमी विद्यालयले यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, "शिक्षा भनेको केवल किताबी ज्ञान आर्जन गर्नु मात्र होइन, व्यवहारिक सीप र दक्षता विकास गर्नु पनि हो। अहिलेको बदलिँदो शैक्षिक प्रणालीमा विद्यार्थीहरूले आफैं प्रयोगात्मक कार्यहरू गर्न पाउनुपर्छ।" के. एम. सि. ए. सुनसरीका अध्यक्ष हरी आचार्यले "शिक्षा अब चार दिवारभित्र मात्र सीमित नरहने गरी व्यवहारिक बनाउनुपर्छ। चक र ब्ल्याकबोर्डबाट ह्वाइटबोर्ड र मार्करमा परिवर्तन हुँदैमा शिक्षाको गुणस्तर वृद्धि हुँदैन, विद्यार्थीलाई व्यवहारिक रूपमा सिकाइ आवश्यक छ" भन्ने विचार व्यक्त गर्नुभयो।WhatsApp Image 2025-03-06 at 7.38.39 AM

विद्यालय व्यवस्थापन समिति (व. व्य. स.) का अध्यक्ष अर्जुन कुमार उप्रेतीले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि आगामी दिनमा अझ बढी सिर्जनात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालयले शिक्षाको गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिहरूलाई समेट्दै नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउनुभयो।

कार्यक्रमका सहभागी अभिभावकहरूले विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका थिए। उनीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनात्मकता तथा अनुसन्धान गर्ने क्षमताको वृद्धि गरिरहेकोमा विद्यालयप्रति आभार व्यक्त गरे। अभिभावकहरूका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई स्वाध्ययनको बानी बसाल्न मात्र होइन, उनीहरूको आत्मनिर्भरता बढाउनमा पनि सहयोग पुर्‍याउँछ।WhatsApp Image 2025-03-06 at 7.38.41 AM (1)

विद्यालयका संयोजक प्रकाश खतिवडाले प्रदर्शनीमा उल्लेखनीय सहभागिता रहेको बताउँदै विद्यार्थीहरूलाई अझ बढी सिर्जनशील बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अझ नवीनतम प्रविधिहरूको समावेश गर्दै प्रदर्शनीलाई अझ व्यापक बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो। WhatsApp Image 2025-03-06 at 7.38.40 AM (1)

विद्यालयका शिक्षकमध्ये एकजना वरिष्ठ शिक्षकले बताउनुभयो, "विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र दिँदा उनीहरूको सिर्जनात्मकता कुण्ठित हुन सक्छ। त्यही कारण हामीले उनीहरूलाई प्रयोगात्मक कार्यहरूमा संलग्न गराउनुपर्छ। यस्ता प्रदर्शनीहरू विद्यार्थीहरूका लागि सिक्ने उत्कृष्ट अवसर हुन्।" विद्यालय प्रशासनका अनुसार, आगामी वर्षका लागि पनि यस्तै कार्यक्रमहरू थप व्यवस्थित रूपमा आयोजना गरिने योजना रहेको छ।

विहान १० बजे सुरु भएको यो प्रदर्शनी बेलुका ४ बजे सम्पन्न भएको थियो। कार्यक्रममा अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको जानकारी विद्यालयकी सह-प्रधानाध्यापक बिमला लुइँटेलले दिनुभयो।

WhatsApp Image 2025-03-06 at 7.38.40 AM