काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह फेरि आमने–सामने देखिएका छन् । हरेक राजनीतिक विषयमा उनीहरुबीच यसरी नै वाकयुद्ध चल्दै आएको छ । पछिल्लो विवाद एमाले प्रदेश सांसदलाई लिएर भएको छ । यद्यपि यो विषयमा शाहले लेखेको स्टाट्स फेसबुकबाट हटिसकेको छ । स्टाट्स हटेपनि उनीहरुबीचको विवाद भने मत्थर भएको छैन ।

मुलुकका प्रत्येक राजनीतिक दलको निशानामा परेको व्यक्ति कोही छ भने ती पात्र हुन काठमाडौं महानगरका मेयर बालेन शाह । स्थानीय तहको निर्वाचनमा ठूला दललाई नै मात खुवाइदिएका शाह त्यसयता कुनै दलको रोजाइमा छैनन् । कुनै दलको सहयोगमा नभई स्वतन्त्र उम्मेदवार बनेर भारी मतका साथ जित हाँसिल गरेका शाह दलको तारो बन्नु स्वभाविक पनि हो । उनी अहिले सबैभन्दा बढी नेकपा एमालेको तारो बनेका छन् ।

सुकुम्बासीबस्ती व्यवस्थापनदेखि एमाले प्रदेश सांसदको विषयले एमाले र उनीबीचको द्वन्द्व चर्किएर सतहमै आएको छ । बालेन शाह मुलुकमा चलिरहेका समसामयिक विषयको सन्दर्भमा दरो र खरो रुपमा प्रस्तुत हुँदै आएका छन् । उनका प्रायः अभिव्यक्तिहरु दलका नेताहरुका विरुद्धमा हुने गर्छन । नेताहरुप्रति बढ्दो वितृष्णाले शाहका यस्ता अभिव्यक्तिहरु छिनभरमै भाइरल हुने गरेका छन् । वितृष्णामा रहेका जनताहरुलाई आफूतर्फ आकर्षित गर्न शाहले यस खालको नीति अघि बढाएको बुझ्न कठिन छैन ।

राजनीतिक दललाई नै लक्षित गरेर अभिव्यक्ति दिन थालेपछि उनीविरुद्ध राजनीतिक दलका नेताहरु सशक्त भएर लागिरहेका छन् । सबैभन्दा बढी नेकपा एमालेले शाहलाई खेदिरहेको छ । यसका पछि विभिन्न विषयहरुले एमाले र शाहबीचको मनमुटाव चर्काइरहेका छन् । आइतबार राति मेयर बालेनले बालश्रम शोषण गर्ने एमाले प्रदेश सभा सदस्य रेखा शर्मामाथि कारबाही प्रक्रिया अघि नबढाएको भन्दै सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति सार्वजनिक गरे । त्यतिमात्र होइन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ती सांसदलाई पक्राउ गर्नसमेत दबाब दिए । तर, अहिले सो विषयमा लेखिएको स्टाट्स उनको फेसबुक वालबाटै हटेको छ ।

यो अभिव्यक्तिपछि उनी एमालेको झनै निशानामा परेका छन् । एमाले नेता, कार्यकर्ताहरुसँग शाहको द्वन्द्व यसपटकको मात्रै होइन, यसअघि पटक–पटक उनीहरुबीच अमिलोपन बढ्दै आएको छ । न्यूरोड सडक फूटपाथ विस्तारको विषयदेखि गिरीबन्धु टी–स्टेटको विषयलाई लिएर पनि उनीहरुबीच वाकयुद्ध चर्किनै रहेको छ । दुवै पक्षमा राजनीतिक फाइदाका लागि जनतालाई आफूतर्फ आकर्षित गर्न खोजिरहेका छन् । उनीहरुका चर्तिकलाबाट जनताले लिने फाइदाचाहिँ के हो  ?