सुनसरी  : र्खरै नेपाली राजनितिमा नेपालमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरूको महाधिवेशन सकियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले), सत्तारूढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को महाधिवेशन सकिएको छ । महाधिवेशनमा अप्रत्याशित लिएर राजेन्द्र लिङ्देन उदाए भने अरूको नतिजा लगभग आँकलन गरिएकै आएको छ ।

सत्ताको आडको शेरबहादुर देउवाको नतिजा होस् या गोजीको लिस्ट पढ्ने प्रचण्डको नतिजा । अझ भनौँ ‘प्लानिङ’ को चुनावमा केपी शर्मा ओलीको नतिजा । जसको जे नतिजा भए पनि नतिजालाई लिएर कसरी समर्थन गर्ने वा विरोध गर्ने ? जे गरेर भए पनि आफ्नो उपस्थिति स्थापित गर्ने भनेर कार्यकर्तालाई निक्कै सकस परेको देखियो ।

 

लेखक : किरण चापागाईं

कार्यकर्ता मतलब कुनै कार्यलाई स्थापित गर्न भूमिका खेल्ने व्यक्ति । तर अहिलेको अधिवेशन हेर्दा कार्यकर्ता विभिन्न रूपमा बाँडिएका छन् । यसरी महाधिवेसनमा कार्यकर्ताको लगाव हेर्दा उनीहरूलाई निम्न वर्गमा बाँड्न सकिने देखियो ।

१. वास्तविक कार्यकर्ता

यी कार्यकर्ता आफ्नो राजनीतिक पार्टीप्रति निकै बफादार हुन्छन् । पार्टीको हितविपरीत माथिल्लो लेभलबाट दबाब आए पनि पार्टीको हितको लागि चाहिने व्यक्तिलाई नै सपोर्ट गरी पार्टीलाई चलायमान बनाउन खोज्छन् । यिनीहरू अधिवेशन को प्रत्येक तहअनुसार यिनीहरूको नेतृत्व पनि फरक हुन सक्छन् । यिनीहरू कुनै गुट वा लाइनलाई विश्वास नगरी सम्पूर्ण एक हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

२. ई. कार्यकर्ता

यस्ता कार्यकर्ताको काम भनेकै सामाजिक सञ्जालमा अझ भनौँ फेसबुकमा तारिफ गरेर फोटो ट्याग गर्नेबाहेक अरू हुन्न । दिनमा तीन/चार चोटी फरक–फरक फोटो बनाइ चाहिनेभन्दा धेरै विज्ञापन गरेर ‘म पनि हजुरकै मान्छे हुँ’ भन्ने आभास दिनु नै यी कार्यकर्ताको मुख्य एजेन्डा रहेको हुन्छ ।

३. झोले कार्यकर्ता

वर्तमान राजनीतिमा बढी रूपमा पाइने कार्यकर्ताको प्रजातिमा झोले कार्यकर्तालाई लिन सकिन्छ । यी कार्यकर्ता ती नेताप्रति मात्र बफादारी हुन्छन्, जसले उनीहरूलाई सहयोग गर्ने ल्याकत राख्छन् । यिनीहरू राजनीतिमा पनि कसैको प्रयोजनकै लागि मात्र आएका हुन्छन् । यिनीहरूलाई सिद्धान्त, नीति, नियम, विधान केही थाहा हुन्न । कोही भोलि केही भइन्छ कि भनेर, केही खान पिउन पाइन्छ कि भनेर, कोही यसले जितेर मलाई कतै सेटल गर्छ कि भनेर राजनितिमा लागेका हुन्छन् ।

यीसँग कसैले पार्टीको बारेमा सोधेमा तेरोमा चाहिँ के छ र भनेर टाढिने गर्छन् । यिनीहरू समग्र पार्टीको भन्दा केही सम्पन्न वा भविष्य बोकेका नेताका मात्र हली हुने गर्दछन् । यिनीहरूले आफूले झोला बोकेको नेतृत्वको कूकर्मको नि सकारात्मक व्याख्या गर्ने ल्याकत राख्दछन् । आफ्ना नेतासँगको फोटो हालिराख्ने, आफ्ना नेताले गरेको सानो काम को नि ठूलो प्रचार गर्ने, आफ्ना मालिकबिना देशै नचल्ने गफ दिनेजस्ता विभिन्न अजिव विशेषण यो प्रजातिमा पाइने गरेको छ ।

४. सरल कार्यकर्ता

यी कार्यकर्तालाई नेतृत्व जो होस् केही फरक पर्दैन । यीमात्र अन्तिम लेभलका कार्यकर्ता हुन् । यिनीहरू मात्र आफ्नो परिवार र छरछिमेकमा आफ्नो राजनीतिक निष्ठाप्रति भोट दिन अपिल गर्छन् । जितेमा आफैँ फुरुक्क र हारेमा आफैँ ठुसुक्क हुन्छन् । यिनीहरूको नेतृत्वसँग खासै सम्पर्क हुँदैन ।

५. दलाल कार्यकर्ता

यी कार्यकर्ताको पहुँच सबै राजनैतिक विचारसँग हुन्छ । यी कुनै विचारका स्थायी कार्यकर्ता हुँदैनन् । यी आफ्नो फाइदाअनुरूप जुनसुकै विचारको उपल्लो लेभलको कार्यकर्ता हुँ भनेर प्रमाण पेस गर्ने सक्ने हुन्छन् । यिनिहरू क्षेत्र, जिल्ला, प्रदेशअनुसार फरक–फरक पार्टीको पनि हुन सक्छन् ।